पाकिस्तानी सांसद्को आरोप- शौचालयमा समेत क्यामेरा फिट गरियो – Nagarikabhiyan : National News

पाकिस्तानी सांसद्को आरोप- शौचालयमा समेत क्यामेरा फिट गरियो

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी तथा सांसद् मरियम सरिफले इमरान खान सरकारविरुद्ध गम्भिर आरोप लगाएकी छिन् । उनले भनेकी छिन्, ‘जब म जेलमा थिएँ तब त्यहाँको प्रशासनले मेरो ब्यारेकको बाथरुममा पनि क्यामेरा लगाइदिएको थियो । यो एक महिलाको अपमान हो ।’ पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) की उपाध्यक्ष मरियम सांसद् पनि हुन् ।

मरियमका अन्य आरोप 
एक टेलिभिजन च्यालनसँगको अन्तर्वार्तामा मरियमले पाकिस्तानको सत्तासँग जोडिएका महत्वपूर्ण मुद्दा उठाउँदै सरकारमाथि धेरै प्रश्न गरिन् । उनले भनिन्, ‘पछिल्ला समय सरकारले मलाई दुुईपटक जेल पठायो र यदि मैले आफ्नो हालतबारे कुरा गरें भने त्यो सुनेर तपाईलाई अचम्म लाग्नेछ । एक महिलासँग कसरी व्यवहार गरिन्छ ।

यदि, मैले वास्तविकता बताए भने इमरान सरकार अनुहार देखाउन पनि लायक रहने छैन । इमरानले याद  गर्नुपर्छ, पाकिस्तान होस् वा अन्यत्र महिला कतै पनि कमजोर छैनन् । हिरासतदेखि बाथरुमसम्म पनि क्यामेरा लगाइएको थियो ।’ मरियमले भनेकी छिन्, ‘यो कस्तो सरकार हो ? एक महिलालाई उसैका बाबु सामुन्न पक्राउ गर्यो र उनीसँग खराब हर्कत गर्यो । यदि एक पूर्व प्रधानमन्त्रीकी छोरी र बहालवाला सांसद् पाकिस्तानमा सुरक्षित छैनन् भने को महिला सुरक्षित होलिन् ?’

सैनिकसँग वार्ताका लागि तयार 

पूर्व प्रधानमन्त्री सरिफ अहिले लण्डनमा उपचार गराइरहेका छन् । भ्रष्टाचार मुद्दामा दोषी पाइएपछि जेल गएका सरिफले उपचारका लागि लण्डन जाने अनुमति पाएका हुन् । सरिफले भिडियो कन्फ्रेन्सिङमार्फत लण्डनबाटै केही र्यालीहरुलाई सम्बोधन गरेका छन् र सैनिकमाथि गम्भिर आरोप लगाएका छन् । उनले सेनाले सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाएका हुन् ।

मरियमले पनि स्पष्टै भनेकी थिइन्, ‘सुरक्षाकर्मीको काम सिमानाको रक्षा गर्नु हो, सत्ता सञ्चालन होइन ।’ अन्तर्वार्तामा एक प्रश्नको जवाफमा मरिमले भनेकी छिन्,‘ सेनासँग वार्ता गर्न कुनै समस्या छैन । तर, सबैभन्दा पहिले इमरान सरकारले राजीनामा दिनुपर्छ । उनी कसको सहयोगमा सत्तामा छन्, यो सबैले बुुझेका छन् ।’