ओलीको पार्टी फुटाउने योजना फेल , अध्यादेश फिर्ता लिन तयार ! – Nagarikabhiyan : National News

ओलीको पार्टी फुटाउने योजना फेल , अध्यादेश फिर्ता लिन तयार !

काठमाडौं : अन्य पार्टी विभाजन गर्न ल्याइएको अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । संभवतः आजै साँझसम्ममा अध्यादेश फिर्ता हुनसक्ने नेकपा स्रोतले बताएको छ ।

बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा प्रधानमन्त्री ओलीले गत सोमबार जारी गरेको अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै अध्यादेश फिर्ता लिन आफू तयार भएको बताएका हुन् ।

साथै आजै बिहानै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् ।

नेकपा उच्च स्रोतका अनुसार यसका लागि ओलीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल शुरु गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा २ ’ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

यसको लागि राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अन्य दल फुटाउनका लागि सोमबार स्वेच्छापूर्वक अध्यादेश ल्याएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधनगर्ने अध्यादेश जारी गरेकी थिइन् ।