एसपीपी अस्वीकार गर्नेबारे रुलिङ गर्न माग – Nagarikabhiyan : National News

एसपीपी अस्वीकार गर्नेबारे रुलिङ गर्न माग

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भन्ने विषयमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरेको छ ।

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बिहीबार बसेको प्रतिनिधसभाको बैठकमा एसपीपी अस्वीकार गर्नेबारे पत्राचार गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने , ‘एसपीपी सम्झौता गर्न सकिँदैन भनेर अमेरिकालाई पत्राचार गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । मन्त्रिपरिषद्को निर्णयविपरीत परराष्ट्र मन्त्रालयका प्रवक्ताले अभिव्यक्ति दिनुभएको छ । सभामुखमार्फत अविलम्ब एसपीपीसम्बन्धि पत्राचार अगरियोस् भन्ने रुलिङ माग गर्न चाहन्छु ।’

गुरुङले पछिल्लो समय नेपालले एसपीपी सम्झौता नगर्ने भनेपछि त्यसका वैकल्पिक नाममा सम्झौता गर्नका लागेको हो कि भन्ने आशंका पैदा भएको पनि बताए । ‘अर्को सैन्य सम्झौता गर्ने रणनीति तयार भइरहेको छ । जसरी भए पनि नेपाललाई हिन्द प्रशान्त सैन्य रणनीतिमा लैजाने र सैन्य सहमतिमा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने ।