नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ : विप्लव
२० जेष्ठ २०७९, शुक्रबार १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको १३औं बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव विप्लवले नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिएको बताएका हुन् ।
नेपालमा साम्राज्यवादी हस्तक्षेप तीब्र गतीमा बढिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका छन् । यो सबै दलाल पूँजीवादको आत्मसमर्पणवादी चरित्रले गर्दा भएको हो । त्यसै कारण नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ ।’
उनले थप भने, ‘अस्ति भर्खरै एमसीसी पास भयो । अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेको खबर छ । अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’
त्यस्तै महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले भनेका छन्, ‘कुनैपनि विदेशी भूमण्डलीकृत साम्राज्यवादी तत्वद्वारा हाम्रो देशमा लादिने असमान सन्धि, सम्झौता र उनीहरुका हस्तक्षेपकारी क्रियाकलापलाई ठाडै अस्वीकार गरेर प्रतिरोधमा उत्रिनुपर्छ ।’
स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयले पार्टीमा भएको मतभेदले पार्टी विभाजनसम्म पुगेको बताउँदै उनले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया