राजन मेहेताले मेयर पदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भए – Nagarikabhiyan : National News

राजन मेहेताले मेयर पदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भए

सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले मेयर पदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएका छन् ।इनरुवा नगरपालिका वडा नं. २ बाट मेहेताले वडा सदस्य पदमा उम्मेदवार दिएका हुन् । हाल मेयर रहेका उनले राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएका हुन् ।‘पार्टीले जहाँ लड् भन्यो, त्यहीँ उम्मेदवार दिएको हुँ,’ मेहेताले फोन सम्पर्कमा भने, ‘कांग्रेसीहरूले मलाई जे मूल्याङ्कन गरेर टिकट दिए, त्यो मान्नुपर्छ ।’उनले पार्टीले मूल्याङ्कन गरेर वडा सदस्यको टिकट दिएकाले मान्नुपर्ने तर्क राखे । उनले भने, ‘पार्टीले गरेको मूल्याङ्कन मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’इनरुवा २ मा कांग्रेसबाट रन्जेश भट्टराई वडाध्यक्षको उम्मेदवार छन् ।कतिपय नेताहरूले भने मेहेताले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख बन्नका लागि वडा सदस्यमा उम्मेदवारी दिएको बताउँदै आएका छन् ।यस विषयमा छोटो प्रतिक्रिया दिँदै मेहेताले भने, ‘भोलिको दिन के हुन्छ, थाहा छैन । तर, आज पार्टीले दिएको टिकटमा मैले चुनाव लड्दैछु ।’