धरानामा थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो – Nagarikabhiyan : National News

धरानामा थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

असोज १९ गते । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमबार बिहान थप एक कोरोना संक्रमितिको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १५ का ५५ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण भएसंगै असोज १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उहाँको उपचारका क्रममा बिहान ६ ः ४५ मा मृत्यु भएको हो । मृतक मृगैलाका दिर्घरोगी रहेको डा. श्रेष्ठले बताउनुभयो । योसँगै धरानका कोरोना संक्रमितको मृत्यु संख्या ९ पुगेको छ । उता सुनसरीको दुहवी, इटहरी र इनरुवामा समेत दुई ÷दुई जनाको मृत्यु भईसकेको छ ।
उता धरानमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले धरान उपमहानगरपालिकाका वडा कार्यालयहरू धमाधम बन्द भइरहेका छन् । अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह नहुने भन्दै धरानका १,३,८,११,१२,१४,१५,१६ नम्बर वडाहरू बन्द गरिएको वडा कार्यालयहरूले सूचना जारी गरेका छन् । बन्द भएका वडाहरूमा वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधिहरू र वडावासीहरूमा कोरोना सङ्क्रमण भएको भन्दै बन्द गरिएको हो । यसरी वडा कार्यालयहरू धमाधम बन्द भयसँगै धरान उपमहानगरपालिकामा पनि थुप्रै कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएपछि अहिले घर नक्सा शाखा, सूचना शाखा र आर्थिक विकास महाशाखा पुरै बन्द गरिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार धरान उपमहानगरपालिकाका वडा कार्यालयहरू किस्ताबन्दी तरिकाले बन्दको घोषणा वडाध्यक्षहरूले गरिरहेको सुन्नमा आएको तर आधिकारिक जानकारी आएको छैन । स्वास्थ्य महाशाखाका अनुसार ६ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले सम्म ३ सय ६३ जना कोरोना सङ्क्रमितले कोरोना जितेर निको भएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार अहिले सम्म धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूमा धरान १५ का ३ जना, धरान १७ का ३ जना, धरान ११ का १ जना, धरान ८ का १ जना र धरान २ का १ जना गरी जम्मा ९ जना रहेका छन् ।