शी लिड्स परियोजनाको तालिम सम्पन्न – Nagarikabhiyan : National News

शी लिड्स परियोजनाको तालिम सम्पन्न

सुनसरीको सदरमुकाम इनरुवामा शी लिड्स महिला नेतृत्व परियोजना अन्तर्गत दलित महिला केन्द्रद्वारा महिला जनप्रतिनिधिहरुलाई दुई दिने क्षमता विकास तालिम दिएको छ । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यतामा फागुन २६ गतेबाट शुरु भएको तालिम शुक्रबार सम्पन्न भएको छ ।राजनीतिक र निर्णायक प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन निर्वाचित महिला जनप्रतिनिधिका लागि शी लिड्स महिला नेतृत्व परियोजना प्रभावकारी देखिएको मेहताले बताउनुभएको छ ।
यहाँ विभिन्न पालिकामा संचालन भइरहेको शी लिड्स महिला नेतृत्व कार्यक्रम आफूहरुको लागि प्रभावकारी रहेको लक्षित समूहका महिला सदस्यहरुले बताएका छन् । जिल्लाको धरान, दुहवी, इनरुवा र भोक्राहा नरसिंह सो कार्यक्रम संचालन भइरहेको छ । प्रदेश १ का ५ जिल्लाका २६ पालिकामा सो कार्यक्रम संचालन भइरहेको आयोजकले जनाएको छ । जुन कार्यक्रम नेपालसहित ७ वटा देशमा संचालित छ ।परियोजनाअन्तर्गत चौथोचरणको तालिम अत्यन्त उपलब्धिमूलक लागेको सहभागीहरुले बताएका छन् । बिहीबार आयोजित समापन कार्यक्रममा इनरुवा नगरपालिका ३ की सदस्य कालिका तिमिल्सिनाले दुई दिनको नेतृत्व विकास कार्यक्रमले आफ्नो व्यक्तित्व निखार्न ठूलो मद्धत पुगेको बताउनुभयो । उहाँले स्थानीय तहको कार्यकाल सिद्धिने बेलामा भन्दा कार्यकालको शुरुमै त्यस किसिमको तालिम आबश्यक भएको धारणा राख्नुभयो । अर्का जनप्रतिनिधि कमला खडिवडाले आफ्नो लागि पनि सो तालिम फलदायी सावित भएको धारणा राख्नुभयो । ‘अगाडि गएर बोल्नसक्ने अभ्यासको विकास भएको छ ’उहाँले भन्नुभया,‘ फेरि पनि यस किसिमको कार्यक्रम आबश्यक छ ।’ अर्का जनप्रतिनिधि सावित्रि विश्वकर्माले बोल्दाबोल्दै धकाउने आफ्नो बानी त्यस कार्यक्रममा सहभागी भएपछि हटेको अनुभव सुनाउनुभयो । इनरुवामा २० जना महिला जनप्रतिनिधिहरुले सो तालिम लिएका छन् । कार्यक्रममा शी लिड्स महिला नेतृत्व परियोजनाका अनिता परियारले आइएफइएस नेपालको भूमिका र शी लिड्स महिला नेतृत्व परियोजनाको उद्धेश्य , गतिविधि , सहयोग, मोडालिटीलगायतका बिषयमा जानकारी दिएको थियो । त्यस्तै शी लिड्स परियोजनाका प्रशिक्षक मोहन तिमिल्सिनाले परियोजनाको गतिविधिअन्तर्गत तालिम , प्रशिक्षण , बैठकका बारेमा प्रकाश पार्नुभएको थियो । शी लिड्स महिला नेतृत्व परियोजनाका तराई क्लस्टर एमएनई अफिसर तेजीलाल लामा लगायतले बोल्नुभएका थियो । कार्यक्रमको संचालन परियोजनाका रामसुन्द मेहताले गरेका थिए ।तालिम कार्यक्रममा सहभागितात्मक नेता, नेतृत्व, असल नेता, नैतिकता, इमान्दारीता सहित योजना तर्जुमा प्रक्रियामा महिला सहभागिता, स्थानीय तहमा बजेट निर्माणका चरणहरु. वित्त व्यवस्थापन, नतिजामुखी अनुगमन तथा मुल्यांकन प्रणाली, वडा समितिका काम, कर्तव्य र अधिकार, वडाबाट हुने सिफारिसहरू, सुशासन र सदाचार, बस्तिस्तरमा योजना छनौट प्रक्रिया, सामाजिक परिचालन, एकीकृत सम्पति कर आदि विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।