बर्जुको प्रशासनिक भवनको उद्घाटन
२४ माघ २०७८, सोमबार १७:१७
सुनसरीको बर्जु गाउँपालिकाको प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । अमाहीबेलाहा स्थित बर्जु गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरिएको केही महिनापछि उद्घाटन गरिएको हो । भवनको सोमबार उद्घाटन गर्दै प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अव आफ्नै भवन भएकाले बर्जुलाई काम गर्न सहज भएको बताउनुभयो । वहाँले भौर्तिक पूर्वाधारले पनि गाउँबासीको सेवामा सहज, छिटो र सरल तरिकाले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
“स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका गाउावासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवाप्रवाह गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
प्रदेश सरकार स्थानीय सरकारसँग हातेमालो गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले प्रत्येक पालिकामा गौरबशाली योजना, खेल मैदान र सडक कालोपत्र लगायतमा स्थानीय सरकारलाई सहयोग गरेको बताउनुभयो ।
नयाँ प्रशासनिक भवनसँगै साविक अमाहिबेलाहा गाविसको भवनबाट सेवा दिदै आएकोमा अव गाउँपालिकाबाट हुँदै आएको सेवा प्रवाह थप सहज हुने अध्यक्ष रघुनन्दन चौधरीले बताउनुभएको छ ।
गाउँपालिकाले हाल प्रयोग गरिरहेको पुरानो गाविस भवनमा पर्याप्त कोठा अभावमा केही शाखा कोचिएर सञ्चालन हुँदै आएका थियो । एक करोड २६ लाख रुपियाँको लागतमा निर्माण गरिएको उक्त भवन अपाङ्गता मैत्री रहेको चौधरीले बताउनुभएको छ । एक सभाहल र ६ कोठा रहेको नवनिर्मित भवन दुई वर्षमा तयार भएको हो । नवनिर्मित प्रशासनिक भवनबाट उद्घाटनसगैं सेवा सुचारु गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सेवाग्राहीको सेवा प्रवाहमा कुनै पनि कमी नगर्न कर्मचारीलाई आग्रह गर्दै गाउँ क्षेत्रको शान्तिसुरक्षा कायम राख्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । पूर्व सभासद रामचन्द्र रायले गाउँपालिकामा भएको विकासको प्रसंशा गर्नुभयो ।
१, सुनसरीको बर्जुमा बर्जु गाउँपालिकाको प्रशासनिक भवनको सोमबार उद्घाटन गर्दै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया