आईपीएल क्रिकेट : हैदरावादसँग बैंगलोर पराजित
२१ आश्विन २०७८, बिहीबार ०८:२१
काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध जित निकालेको छ । अबुधाबीमा बुधबार भएको खेलमा हैदरावादले बैंगलोरलाई ४ रनले पराजित गरेको हो । हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहदै १९ रन बनाए । शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए । हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए । जासन होल्डरले १६ रन जोड्दा प्रियम गार्गले १५ तथा अविशेक शर्माले १३ रन बनाए । बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।
यस जितसँगै हैदरावादले १३ खेलमा ६ अंक जोडेको छ । हैदरावाद पुछारमा रहेको छ । बैंगलोर १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया