कोशीटप्पुको हात्ती माकुनाको मृत्यु, धेरैलाई राहत, केहीलाई चिन्ता – Nagarikabhiyan : National News

कोशीटप्पुको हात्ती माकुनाको मृत्यु, धेरैलाई राहत, केहीलाई चिन्ता

इनरुवा, असोज १७ गते । कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेर आतंक मच्चाउदै आएको जंगली हात्ती माकुनाको मृत्यु भएको छ । आईतबार विहान आरक्षको पूर्वी तटबन्ध नजिकै विधुतिय तारमा करेण्ट लागेर माकुनाको मृत्यु भएको आरक्षले जनाए पनि स्थानीयहरुले कालगती वा सर्पले टोकेर मृत्यु भएको बताएका छन् । आरक्षमा रहेको हात्तीसारको हात्तीको प्रजननको स्रोत र साथी समेत रहेको मकुनाको मृत्युले आरक्ष प्रशासन चिन्तित बनेको छ । कोशी टप्पु लर्नीङ ग्राउन्डको अध्यक्ष राजकुमार सिंहले कोशी टप्पुमा माकुनाको मृत्युुको खबरले दुखि बनाएको बताउनुभयो । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा लौकही मध्यवर्ती क्षेत्रको अमलादेवी सरदारको खेतमा आईतबार माकुना जङ्गली हात्ती मृत फेला परेको सिंहले बताउनुभयो । हात्तीसार स्थित अक्वा रिसोर्ट देखि ३०० मिटर उत्तर, बाधको पूर्वपट्टी पटेरसगै रहेको सरदारको खेतमा हात्ती मृत भेटिएको सिंहले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्षको नजीकै रहेको गाउँघर र धान, उखु खेतमा बिजुलीको तार जोडिएकोले करेन्ट लागेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । हात्तीको शरिरको अन्य भागमा चोटपटक नभएको भन्दै करेन्टकै कारण मरेको हुनसक्ने अनुमान गरिएको सिंहले बताउनुभयो । घटनास्थलमा आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अधिकृत अशोक कुमार राम पुगेर माकुना हात्तीको पोष्ट मार्टम गर्नुभएको छ । रामले क्षेत्रीय प्रयोगशाला र भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र सुनसरीको पशु चिकित्सक डा मनोज कुमार चौधरी तथा स्वास्थ्यकर्मीको टोली घटना स्थलमा नै पोष्ट मार्टम गर्नुभएको जानकारी दिनुभयो । उहाँका अनुसार मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिएको छ । हात्तीको मृत्युले धेरैलाई निरासा बनाएको छ भने केही चिन्तित बनेका छन् । प्रकृतिका गहनको रुपमा रहेको र आरक्षको हात्तीसारको पोथीका लागि प्रजन्नको स्रोत भएकाले प्रजनन गराउन समेत समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसअघि पनि माकुना बाहेक छ जंगली हात्तीको करेण्ट लागेर मृत्यु भईसकेको छ । जनतालाई आतंक मच्चाउने हात्तीहरुलाई यसअघि सुस्तपार्न २ पटक डार्ट हानेको थियो । आरक्षका प्रमुख रामका अनुसार बराहक्षेत्र नगरपालिकाको चतरा, प्रकाशपुर, मधुवन, कोशी गाउँपालिकाको पश्चिम कुशाहा, हरिपुर र साप्तरीमा एक एक गरी छ जंगली हात्तीको करेण्ट लागेर मृत्यु भएको छ ।
संयोग यस्तो पनि माकुनाले मारेको व्यक्तिको श्राद्धको दिन माकुना अलविदा ः झण्डै चार वर्षदेखी कोशी टप्पु वन्य जन्तु आरक्षमा आएको अनुमान गरिएको दारा नभएको भाले हात्ती माकुनाले आरक्षमा रहेर दुई वर्षयता सुनसरी र सप्तरीको केही भागमा आतंक मच्चाउदै आएको थियो । जंगली हात्ती माकुनाको मृत्युलाई केहीले कालगती त केहीले करेट लागेर र केहीले लगाएर मारेको प्रतिकृया दिएका छन् । संयोग कस्तो भने असोज ४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनकी ६० वर्षिया मगंनी खत्वेलाई माकुनाले मारेको १३ औं दिन आफै कानुना अलविदा भएको छ । हात्तीले मरेको व्यक्तिको श्राद्धको दिन माकुना अलविदा भएकाले शोकाकुल परिवारले राहतको महसुश र न्याय पाएको जस्तो भएको छ भने प्रकृतिको गहना र पर्यटकको आक्रर्षणको केन्द्र रहेको हात्ती नै मरेकाले दुखित तुल्याएको आरक्ष क्षेत्रका सुरज सिंहले बताउनुभयो । कोशी ३ की कलिया यादवले हात्ती आफूहरुको गहना भएको र मानिसले नचलाएको बाहेक समयमा कसैलाई केही नगरेको भएपनि एकाएक मृत्युको खवरले दुखित बनाएको बताउनुभयो । वहाँले आफन्त गुमाए जस्तो महसुश भएको सुनाउनुभयो ।
कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीले आरक्षको गहना भएको माकुनाको निधनले दुखित बनाएको बताउनुभयो । वहाँले हात्ती मरेकोमा धेरैलाई राहत पनि भएको प्रतिकृया दिनुभयो । वहाँले माकुनाकै कारणले केहीले श्रीमान त केहीले श्रीमती, केहीले छोराछोरी र आफन्त गुमाएको बेला आफै माकुना कालगतीले मरेपछि प्रायःजसो हात्ती पीडित परिबारले राहतको महसुश गरेको सुनाउनुभयो ।
माकुना किन भनिएको हो ? ः प्रायः भाले हात्तीको दुई वटा दारा हुन्छ तर भाले हात्ती भएर पनि दारा नभएकाले यो जंगली हात्तीलाई माकुना भनिएको हो । माकुनाले आतंक मच्चाउने गरेको कारणले एक अघिमात्रै बौलाएको भन्दै मार्ने प्रयास प्रशासन र कोशी पालिकाले निशर्ष निकालेको थियो । तर हात्तीलाई उपचार गरेपछि ठीक हुने सुझाएपछि बचेको थियो ।