रामधुनी जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा
२९ भाद्र २०७८, मंगलवार १९:५२
सुनसरीको रामधुनी नगरपालिका प्रदेश १ को दोस्रो र जिल्लाको पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहागंले मंगलबार बाल दिवशको अवसरमा रामधुनी नगरपालिकालाई संघीयता पछिको प्रदेश नं. १ को दोस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा गर्नुभएको छ । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको त्यसै अनुसार घोषणा गरिएको छ । बालमैत्री नगरपालिका निर्माणको यात्रामा रामधुनी नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको नगर प्रमुख जयप्रकाश चौधरीले बताउनुभयो । चौधरीका अनुसार बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिएको छ ।
रामध्ुुनी नगरपालिकाका प्रमुख चौधरी भन्नुहुन्छ “हामीले नगरपालिकालाई बालमैत्री घोषणा गर्याैं, यो संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ, बाल विवाह मुक्त र बालश्रम मुक्त भन्ने थप जिम्मेवारी हामीले महसुस गरेका छौं । हामीले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नेछौं । हामीले बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गर्यौ, जसको निरन्तरता सदैव हुनेछ । ”

बालमैत्री नगर निर्माणका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । सोही अनुरुप रामधुनी नगरपालिकाले सन् २०१४ देखि नै बालबालिकाको क्षेत्रमा पुजिँगत बजेटको १५ प्रतिशत बजेट विनियोजन गर्दै आएको नयाँ संरचनामा आएपनि त्यसको निरन्तरता दिदै काम गरेको छ । जसले गर्दा सत प्रतिशत बालबालिका विद्यालय भर्ना हुन सहयोग मिलेको छ, सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय रहेको छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ , बालबालिकाहरुको जन्मदर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्युनीकरणको काम तिब्र रुपमा गरिरहेको छ र वालविवाह रोकथाम, न्युनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ ओटा सूचक पूरा गर्नुपर्ने भएपनि कञ्चनरुप नगरपालिकाले एउटा सुचक थप गरी ४० ओटा सूचकमा काम गरिहेको छ ।
उपप्रमुख सविना चौधरी भन्नुहुन्छ,“रामधुनी नगरपालिकाका सम्पूर्ण बालबालिका, युवा र समग्र नगरबासीलाई बधाई दिदैं बालमैत्री स्थानीय शासनको महाअभियानलाई सफल बनाउन योगदान गर्नैहरुलाई धन्यवाद दिन चाहन्छु । वहाँ थप्नुहुन्छः बालबालिकाको उज्वल र थप शान्तीपूर्ण भविश्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरुप बालमैत्री नगरपालिका घोषणा भएकोले, राष्ट्रको प्रगतिको लागि आज एउटा कोशेढुङ्गा बनेको छ । बालअधिकार महासन्धी पारीत भएको ३२ वर्षको उत्सव मनाउने पूर्व सन्ध्यामा नगरपालिका बालमैत्री घोषणा हुनु भनेको बालअधिकारको अनुभुतीको उत्कृष्ट उदाहरण हो ।”
चौधरीका अनुसार बाल दिवशको अवसर पारेर रामधुनी नगरपालिकाले बालमैत्री नगरको यात्रा सफल पारेको हो । नेपाल सरकारले बालमैत्री सन् २०११ देखि अवलम्बन गरेको छ । रामधुनी नगरपालिकाका बाल संजाल सदस्यका अनुसार “नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना अन्नत पूरा भएको छ । बालमैत्री घोषणा गर्ने क्रम संगै बालमैत्री नगरको रुपमा हामीले सबै बालबालिकाको अधिकार सुनिश्चित गरेका छ ।” बालबालिकाले सुरक्षित वातवारणको महसुस गर्न पाएका छन् र बालमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाएका छन् । हाम्रो आवाज सुनिदै छ , हामी योजना तर्जुमा प्रक्रियामा पनि निरन्तर सहभागी हुने अवसर पाएका छौ । बाल फोकल पर्सन अमन ढुगेंलका अनुसार “आफु बालक्लबमा बसेर नगरपालिकासंग नजिकमा रहेर काम गर्ने अवसर पाएका कारण, विभिन्न तालिमहरुमा सहभागी भएका कारण यति राम्रो क्षमता विकास भएको छ की आज म हजारौं मानिसहरुको अगाडि यो मञ्चमा उभिएर बोल्न सक्षम भएको छु, म जस्तै क्षमता विकासको अवसर देशका प्रत्येक बालबालिकाले पनि पाउनुपर्छ ।”
घोषणा कार्यक्रममा प्रदेश संसद स्वध्वज साँवा, नवोदिता चौधरी, धरानका नगर प्रमुख तिलक राई, इटहरीका प्रमुख द्धारिकलाल चौधरी सहित विभिन्न पालिकाका प्रतिनिधिहरु, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी उपरीक्षक संजय सिंह थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश बहादुर दाहाल, वडा अध्यक्षहरु महेश चौधरी, होमनारायण चौधरी, रुद्रबहादुर बस्नेत, घनश्याम चौधरी, डेगराज फुयाल, मनेष चौधरी सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न जातजाती र बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया