नेपाल–भारत मैत्री फुटबल शृङ्खला भारतको पक्षमा – Nagarikabhiyan : National News

नेपाल–भारत मैत्री फुटबल शृङ्खला भारतको पक्षमा

काठमाडौँ । खेलको दोस्रो भागमा उत्कृष्ट प्रदर्शन गरेर भारतले आइतबार घरेलु टिम नेपाललाई २–१ ले हराएर दुई खेलको अन्तर्राष्ट्रिय मैत्री शृङ्खला हात पारेको छ । नेपाल र भारतबीच बिहीबार साँझ भएको पहिलो खेल १–१ ले बराबरीमा सकिएको थियो ।
दशरथ रङ्गशालामा भारतका लागि स्थानापन्न खेलाडी फारुख चौधरी र कप्तान सुनील क्षेत्रीले गोल गर्नुभयो । नेपाललाई तेज तामाङबाट गोल प्राप्त भयो । खेलको ६२औँ मिनेटमा फारुखले गोल गरी घरेलु दर्शकलाई चुप पार्नुभयो । डिफेन्डर चिङ्गेलसेन सिंहको क्रसको सदुपयोग गर्दै सुनीलले दिएको हेड पासमा बिना निगरानीमा रहेका फारुखले गोलपोस्टमा बल छिराउनुभएको हो । फारुख मध्यान्तरपछि विपिन सिंहको स्थानमा मैदानमा छिर्नुभएको थियो । निर्धारित समय सकिन १० मिनेट बाँकी छँदा भारतले प्रत्याक्रमणमा दोस्रो गोल ग¥यो । अनिरुद्ध थापाको हेड पासमा करिब मैदानको मध्यभागबाट बल लगेर सुनीलले गोलरक्षक किरणसँगको वन भर्सेज वनमा गोल गर्नुभयो । सुनीलको यो ७६औँ अन्तर्राष्ट्रिय गोल भएको छ ।

खेलको ८७औँ मिनेटमा तेज तामाङले करिब ३० मिटरको दूरीबाट दर्शनीय गोल गरेर नेपालको खेल बराबर गर्ने सम्भावना देखाउनुभयो तर नेपालले त्यसपछि थप गोल गर्न सकेन । नेपालविरुद्ध भारतको यो २१ भिडन्तमा १४औँ जित भएको छ । नेपालले दुई पटक जित हासिल गरेको छ । सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिपपछि नेपालले भारतलाई हराउन सकेको छैन ।

पूर्वाद्र्धमा नेपाल प्रभावशाली देखियो । नेपालले गोल हुने खालका थुपै्र अवसर पनि बनाएको थियो । खेलको १३औँ मिनेटमा मनिष डाँगीले गोल गर्ने सुनौलो अवसर पाउनुभयो । उहाँले भारतका गोलरक्षक अमरिन्दर सिंहलाई मात्र ‘बिट’ गर्नुपर्ने स्थिति थियो तर आज पहिलो रोजाइमै खेल्ने अवसर पाएका मनीषले बल प्रहार गर्ने समयमा आफ्नो सन्तुलन गुमाउनुभयो । खेलको २७औँ मिनेटमा आयुष घलानको क्रसमा गोलपोस्ट नजिक रहेका आशिष लामाको हेडर बलसम्म पुग्न सकेन ।
भारतले पनि समयसमयमा नेपालको डिबक्समा बल पु¥याएको थियो तर भारतले पूर्वार्धमा गोलरक्षक किरण चेम्जोङका लागि परीक्षा हुने खालको आक्रमण गर्न सकेन । खेलको ४५औँ मिनेमा सेरिटन बेनीको क्रसमा सुनीलले फ्लिक हेडमार्फत गोल गर्ने प्रयास गर्नुभएको थियो ।

यसैगरी खेलको ६६औँ मिनेटमा अञ्जन विष्टको शक्तिशाली हेडरलाई भारतका गोलरक्षक अमरिन्दरले विफल पार्नुभयो । दुई मिनेटपछि नै नवयुग श्रेष्ठले डिबक्सभित्रै मिलाइएको दिएको पासमा विशाल राईले करिब १० गजबाट बल बाहिर प्रहार गर्नुभयो । खेलको ७४औँ मिनेटमा तेज तामाङको क्रसमा मनिषले नजिकबाट बललाई गोलपोस्टको दिशामा राख्न सक्नुभएन ।

किरणको नाममा सर्वाधिक खेल
भारतविरुद्ध आज खेलेर गोलरक्षक किरण नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नुभयो । उहाँले नेपालका लागि सर्वाधिक ७४ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । यसअघि किरण र पूर्वकप्तान विराज महर्जन समान ७३ खेलसहित सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा हुनुहुन्थ्यो । किरण सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गर्नुभएको हो ।

विशाल र राजनको पदार्पण
खेलको ८६औँ मिनेटमा कप्तान किरणको स्थानमा विशाल नेपाल गोलपोस्ट सम्हाल्न मैदानमा छिर्नुभयो । करिब एक दशकदेखि नै राष्ट्रिय टिममा परेर पनि सधैँ बेन्चमा थन्किने विशालले आइतबार भने पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाउनुभयो । विशालसँगै राजन गुरुङ पनि स्थानापन्न खेलाडीका रूपमा मैदानमा प्रवेश गर्नुभएको थियो । मनीषको स्थानमा मैदान प्रवेश गरेपछि राजनले पनि अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गर्नुभयो ।

फिनिसिङमा समस्या
नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले नतिजालाई अलग राख्ने हो भने आफ्नो टिमले राम्रो खेलेको प्रतिक्रिया दिनुभयो । “मलाई आफ्ना खेलाडीप्रति गर्व छ । हामीले पाँच, छ पटक गोल गर्ने अवसर खेर फाल्यौँ । फिनिसिङमा समस्या भयो । यो पक्षमा सुधार गर्न अलि समय लाग्छ । नेपालले धेरै वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलमा डिफेन्सिभ फुटबल खेल्दै आएको छ । त्यसैले फिनिसिङमा समस्या भएको छ”, प्रशिक्षक अल्मुताइरीले भन्नुभयो ।
भारती प्रशिक्षक इगोर स्टिमाचले आजको खेलमा दुवै टिमले आआफ्नो प्रदर्शनमा सुधार गरे पनि दुवै भिडन्तमा भारतकै पल्ला भारी रहेको प्रतिक्रिया दिनुभयो । नेपालले पनि आज धेरै राम्रो खेल्यो । “यो जितले मलाई ठूलो राहत पनि दिएको छ”, प्रशिक्षक स्टिमचले भन्नुभयो । पहिलो खेल बराबरीमा सकिएपछि भारतीय समर्थकले सामाजिक सञ्जालमा आफ्ना प्रशिक्षकलाई हटाउनुपर्ने माग गरेका थिए ।

तेज दोस्रो पटक सर्वश्रेष्ठ खेलाडी
सान्त्वना गोल गर्ने तेज नेपालका लागि सर्वश्रेष्ठ खेलाडी बन्नुभयो । तेज पहिलो खेलमा पनि नेपालका म्यान अफ दी म्याच घोषित हुनुभएको थियो । यसैगरी आजको खेलमा म्यान अफ दी म्याच भारतका अनिरुद्ध बन्नुभयो । तेज र अनिरुद्ध दुवैले जनही २५ हजार रुपियाँ प्राप्त गर्नुभयो । यसैगरी म्यान अफ दी सिरिज भारतका रहिम अली चुनिनुभयो । उहाँ एक लाख रुपियाँको हकदार बन्नुभयो ।