जसपा विवादः आधिकारिकताको टुंगो लगाउन निर्वाचन आयोगले इजलास बनाउँदै
२२ असार २०७८, मंगलवार १७:०५
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले इजलास गठन गर्ने भएको छ ।
मंगलवार जसपाका दुवै पक्षहरुसँग छलफल गरेको आयोगले दुई पक्षले विभाजन गर्न गर्नेमा रुची देखाएको कारण विवाद टुँगो लगाउने गरी अघि बढेको हो ।
जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेश गरेको थियो। सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमती जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो।
तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन्। छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको बताउनुभयो ।
अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने इजलासले सुनुवाईको प्रक्रिया अगाडि बढाएर विवादको निरुपण गर्ने उहाँको भनाई छ ।
जसपा उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षीय नेताहरुले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुनसक्ने बताउनुभयो ।
पार्टीमा चैत्र ६ गते प्रधानमन्त्र केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२ जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुनसक्ने कुरा आफुहरुले छलफलका क्रममा राखेको उहाँले बताउनुभयो ।
जसपाको दुवै पक्षले लामो समयदेखि एक अर्काका नेताहरुलाई कारवाही गर्दै आएका छन् ।ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया