युरोकप : ग्रिजमनको गोलमा फ्रान्स हारबाट जोगियो
५ असार २०७८, शनिबार २१:१७
काठमाडौं । युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा फ्रन्स हारबाट जोगिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रन्सलाई हारबाट जोगाए । घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन् ।
तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।त्यसबाहेक खेल अवधि भर विश्व विजेता फ्रान्सले एकतर्फी पकड जमाएको थियो । तर, गोल गर्न असफल भयो ।
पहिलो हाफमा फ्रान्सका करिम बेन्जिमा र केलियन एमबाप्पेले पाएको मौकामा गोल गर्न सकेनन् । दोस्रो हाफमा ओसुमाने डेम्बेलेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
यस बराबरीसँगै समूह ‘एफ’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो।
हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया