युराेकप : जर्मनीलाई हराउँदै फ्रान्सको सुखद सुरुवात
२ असार २०७८, बुधबार ०९:२९
काठमाडाैं । युरोकप फुटबलमा जर्मनीलाई हराउँदै फ्रान्सले सुखद सुरुवात गरेकाे छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।
जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।
त्यसबाहेक फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन । खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए । तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन ।
खेलको ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गरेका थिए । तर, भीएआरको सहायतामा एमबाप्पे अफसाइड रहदा उनको गोलले मान्यता नपाएको हो ।
जर्मनीले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । खेल अवधि भर बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा चुकेको थियो ।यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया