जसपाका ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम, मन्त्रालमा कुरा मिले आजै सपथ लिने – Nagarikabhiyan : National News

जसपाका ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम, मन्त्रालमा कुरा मिले आजै सपथ लिने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच बालुवाटारमा छलफल चलिरहेको छ ।

अध्यक्ष ठाकुर पक्षले पार्टीबाट मन्त्रीको नाम टुङ्गो लगाएर प्रधानमन्त्री ओलीसँग बालु्वाटारमा छलफल गरेका हुन् ।

जसपा एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ, र रेनुका गुरुङ सरकारमा सहभागी हुँदैछन्। यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ। यद्यपि, मन्त्रालयको विषयमा भने कुरा नमिलेको उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ। राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुगों लाग्न बाँकी रहेको बताइएको छ ।

जसपा नेपालले माग गरेअनुसार गृहमन्त्रालय नदिने भएपछि भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ। मन्त्रालयमा कुरा मिलेपछि आजै साँझसम्म सपथ गर्ने तयारी समेत गरिएको छ ।