एकदिवसीय विश्वकपमा १४ र टी–२० मा २० टिम पुर्‍याउने आईसीसीको घोषणा – Nagarikabhiyan : National News

एकदिवसीय विश्वकपमा १४ र टी–२० मा २० टिम पुर्‍याउने आईसीसीको घोषणा

काठमाडौँ  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) ले एकदिवसीय र टी–२० विश्वकपमा सहभागी हुने टिमको संख्या बढाउने घोषणा गरेको छ ।

मंगलबार आईसीसीको बोर्डले सन् २०२४ देखि २०३१ सम्म आयोजना हुने विभिन्न प्रतियोगिताको तालिका निश्चित गर्दै सहभागी टिमको संख्या बढाउने निर्णय भएको जानकारी दिएको हो । साथै पुरुषतर्फको च्याम्पियन्स ट्रफी पुन: सुरु गरिने पनि आईसीसीले जनाएको छ ।

सन् २०२७ र २०३१ मा हुने एकदिवसीय विश्वकपमा १४ टिम सहभागी हुनेछ । प्रतियोगितामा कुल ५४ खेल खेलाइनेछ । त्यस्तै सन् २०२४, २०२६, २०२८ र २०३० मा हुने टी–२० विश्वकपमा २० वटा टिम सहभागी हुने र ५५ वटा खेल हुने आईसीसीले जनाएको छ । त्यस्तै सन् २०२५ र २०२९ मा आयोजना हुने च्याम्पियन्स ट्रफीमा ८ टिम सहभागी हुनेछन् । त्यसैगरी सन् २०२५, २०२७, २०२९ र २०३१ मा आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल आयोजना हुने आईसीसीले जनाएको छ ।

आईसीसीका अनुसार एकदिवसीय विश्वकपमा ७–७ वटा टिमको दुई वटा समूह हुनेछ । समूहको शीर्ष ३ स्थानका टिम सुपर सिक्स चरणमा पुग्नेछन् । यो सन् २००३ को एकदिवसीय विश्वकपको फर्म्याट नै भएको आईसीसीले जनाएको छ ।

त्यस्तै टी–२० विश्वकपमा ५ वटा टिमको ४ समूह हुनेछन् । प्रत्येक समूहको शीर्ष २ स्थान हासिल गर्ने टिम सुपर ८ चरणमा पुग्नेछन् ।

यसअघि सन् २०१६ को टी–२० विश्वकपमा १६ तथा सन् २०१९ को एकदिवसीय विश्वकपमा १० टिम सहभागी थिए ।

कान्तिपुर दैनिक बाट