विराटनगरमा अक्सिजन अभाव
१२ जेष्ठ २०७८, बुधबार ०७:३०
विराटनगर । विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास सोमबारसाँझ हारगुहार गर्दै मोरङको झोराहाटस्थित मारुती अक्सिजन उद्योगमा पुगे।
अक्सिजन आवश्यक पर्ने कोरोनाका बिरामीलाई बचाउन गाह्रो भइरहेको पीडा उद्योगमा उनी पोखिरहेका थिए। ‘अस्पतालमा अक्सिजन आवश्यक पर्ने गम्भीर अवस्थाका कोरोना संक्रमित धेरै छन्। जतिसक्दो चाँडो उपलब्ध गराउन सकियो भने बचाउन सक्ने अवस्था रहन्छ,’ डा. दास भन्दै थिए, ‘त्यही भएर अक्सिजन खोज्दै आएको हुँ। श्वास फेर्न नसकेर बिरामीको मृत्यु हुने अवस्था छ।’
उद्योगले मंगलबार बिहानसम्म एक सय सिलिन्डर अक्सिजन अस्पताललाई उपलब्ध गराएको छ। कोसीले जेठ ६ गतेबाट कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएको हो। ६० बेड क्षमताको केन्द्रमा मंगलबार दिउँसोसम्ममा ६३ जना संक्रमित उपचाररत छन्।
संक्रमित र अरू बिरामीका लागि गरेर कोसी अस्पतालमा दैनिक ३ सय ५० सिलिन्डरसम्म अक्सिजन खपत हुने गरेको डा. दासले बताए। ‘समयमा अक्सिजन उपलब्ध गराउन नसक्दा बिरामीको मृत्यु होला कि भन्ने पीडा अस्पताललाई हुन्छ,’ उनले भने, ‘एक पटक अक्सिजन लिनलाई पाँच घण्टाभन्दा बढी समय पर्खनुपर्ने अवस्था छ।’
डा. दासका अनुसार सिलिन्डर कम हुँदा समस्या भइरहेको हो। ‘कोरोना संक्रमितको उपचारमा विभिन्न जिम्मेवारी दिएर ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ,’ डा. दासले भने, ‘अक्सिजन व्यवस्थापनको ठूलो दबाब झेलेर गम्भीर प्रकृतिका संक्रमितलाई बचाउने प्रयास गरिरहेका छौँ।’ उनका अनुसार भरेर तयारी अवस्थामा राख्ने गरी अगाडि नै उद्योगमा पठाउनलाई अस्पतालसँग पर्याप्त सिलिन्डर छैन।
‘सिलिन्डर पर्याप्त नहुँदा अगाडि नै ‘रिफिल’ गर्ने गरी पठाउन सकिँदैन। खाली भएपछि पठाउनु पर्दा भरिसकेर ल्याउन निकै समय खर्चनुपर्ने अवस्था छ,’ दासले भने, ‘उद्योगले पनि एक घण्टामा १६ वटा जति सिलिन्डर मात्रै ‘रिफिल’ गर्न सक्छ। त्यतिले त अस्पताललाई एक घण्टा पनि पुग्न मुस्किल हुन्छ।’ उनका अनुसार सिलिन्डर अभाव नहुने हो भने अक्सिजन आपूर्तिमा धेरै समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने थियो।
कोसीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले मंगलबार ५० वटा सिलिन्डर पठाएको छ। विराटनगर महानगरपालिकाबाट २०, हिसानबाट ३०, हिमाल अक्सिजन उद्योगबाट ५०, मारुती अक्सिजन उद्योगबाट २५, सुनसरीको दुहवीस्थित फरवार्डबाट नौवटा सिलिन्डर सहयोग प्राप्त भएको छ।
सिलिन्डर जुटाउन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको भूमिका महŒवपूर्ण रहेको जानकारी डा. दासले दिए। उनका अनुसार विनायक अक्सिजन उद्योगले पनि अस्पताललाई सिलिन्डर सहयोग गर्दै छ। ‘सबैतिरबाट गरेर अस्पतालमा २ सय ७९ वटा सिलिन्डर जम्मा गरिँदै छ,’ उनले भने, ‘अब थप एक सय जति भेला पार्न सकियो भने अक्सिजन संकट केही हदसम्म कम हुने थियो।’
नोबेल शिक्षण अस्पतालका पर्चेज मेनेजर तीर्थ कोइराला दैनिक २ सय ५० सिलिन्डर अक्सिजन खपत हुने बताउँछन्। ‘आवश्यकता खड्किएर खोजी गर्दै जाँदा मारुती अक्सिजन उद्योगले ४० सिलिन्डर उपलब्ध गराउन सक्यो, ‘उनले भने, ‘लाइनमा बसेर उद्योगमा ‘रिफिल’ गर्नेदेखि लिएर अस्पतालसम्म ल्याउन ठूलै संकट बेहोर्नु पर्छ। त्यो पनि भनेका बेला पाउन सक्ने अवस्था छैन।’ कोइरालाका अनुसार अक्सिजनका खाली सिलिन्डर पठाएपछि उद्योगले भोलिपल्ट मात्रै भरेर ठिक्क पारिदिन सक्छ। ‘पछिल्लो समय केही उद्योगमा समस्या आउन थालेको छ,’ उनले भने, ‘२४ घण्टा चलाउनुपर्ने भएपछि त्यस्तो अवस्था आएको हो।’
विराट शिक्षण अस्पतालका कोभिड इन्चार्ज सुनील देवले उद्योगसँग एक सयवटा माग गरियो भने ३० वटा जति मात्रै पाउने अवस्था रहेको बताए। ‘अक्सिजनका लागि दुईवटा साधनलाई २४ घण्टा नै उद्योग–उद्योगमा दौडाउनुपर्छ,’ उनले भने। अक्सिजन नपाएर बिरामीको मृत्यु पो हुने हो कि भन्ने पीडाले बढी सताउन थालेको देवले बताए।
उनका अनुसार विराटमा दैनिक तीन सय २५ सिलिन्डरसम्म अक्सिजन आवश्यक पर्छ। कतिपय अवस्थामा अक्सिजनका लागि रातभर लाइनमा बस्नुपर्ने देवले बताए। ‘सबै अस्पताल आफ्नामा भर्ना भएका संक्रमितलाई बचाउनुपर्छ भन्नेमै केन्द्रित हुन्छन्,’ उनले भने, ‘माग बढेकाले उद्योगले पनि समयमा उपलब्ध गराउन सकेका छैनन्।’ कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशी अक्सिजन आपूर्तिको खटाइ धेरै रहेको बताउँछन्। ‘एक दिनमा पाँच सय सिलिन्डरसम्म खपत हुन्छ,’ उनले भने, ‘दैनिक १२÷१२ घण्टाका दरले अक्सिजनको जोहो गर्न ढुवानीका साधनसहित अलगअलग टोली परिचालित छ।’
सुनसरीको दुहवीस्थित विनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडा माग अत्यधिक हुँदा धान्न मुस्किल पर्न थालेको बताउँछन्। ‘अहिले २४ घण्टा नै उद्योग सञ्चालनमा छ। दैनिक आठ सय सिलिन्डरसम्म ‘रिफिल’ गर्न सकिन्छ,’ उनले भने, ‘तर उद्योगमा अक्सिजन माग्ने अस्पताल धेरै छन्। यसअघि दैनिक १० सिलिन्डर लग्नेले अहिले ५० वटाभन्दा बढी माग गरिरहेका हुन्छन्।’
अझ सिलिन्डरकै अभाव भएर समयमा अक्सिजन भरेर दिन नसक्दा धेरै दुःख लाग्ने गरेको सारडाको भनाइ छ। ‘मानवीयताका हिसाबले पनि कोरोनाका बिरामीलाई बचाउनुपर्छ भनेर जतिसक्दो अक्सिजन धेरै उत्पादन गरेर पठाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘मेसिनरी चिज हो केही भइदियो भने समस्या भएर उत्पादनमै असर पर्न सक्छ।’ सारडाले दैनिक २० वटा अस्पताललाई अक्सिजन पठाउने गरिएको बताए।
उद्योगमा समस्या आउन थाल्यो
कोरोना संक्रमित ह्वात्तै बढेर अहिले अक्सिजनको माग अत्यधिक छ। प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। तर सबै उद्योगमा अक्सिजन माग गर्ने अस्पताल धेरै छन्।
पूर्ण क्षमतामा २४ घण्टा नै उद्योग चलाउनुपर्ने अवस्था रहेको हिमाल अक्सिजन उद्योगका स्टोर इन्चार्ज उद्धव थापाले बताए। ‘यसअघि दैनिक १२ घण्टा जति चलाउने गरिएको थियो। कोरोना महामारीयता २४ घण्टा नै चलिरहेको छ,’ उनले भने, ‘जतिबेलै व्यस्त हुँदा मेसिनमा समस्या आउन थालेको छ। त्यसले नियमित उत्पादनमा असर पर्न थाल्यो।’ थापाका अनुसार मोटरमा समस्या आएर मंगलबार बिहानदेखि उद्योगले उत्पादन दिन सकिरहेको छैन।
यो उद्योगले दैनिक सात सय सिलिन्डर अक्सिजन उत्पादन गर्छ। माग अत्यधिक रहेकाले एकछिन पनि नबिसाइकन उद्योग जतिबेलै चलाउनुपर्दा समस्या हुने गरेको उनको भनाइ छ। उनले उद्योगले मागलाई धान्न सक्ने अवस्था नभएको बताए। यो समाचार अन्नपूर्ण पोस्टदैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया