पिएसजीलाई पछि पार्दै लिलले जित्यो फ्रान्स लिगको उपाधि – Nagarikabhiyan : National News

पिएसजीलाई पछि पार्दै लिलले जित्यो फ्रान्स लिगको उपाधि

एजेन्सी । यो सिजनको फ्रान्स लिगको उपाधि लिलले जितेको छ । गएराति भएको अन्तिम चरणको खेलमा एन्जर्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिल लिग च्याम्पियन बनेको हो ।

साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई भने लिल भन्दा एक अंकले पछि परे । पिएसजीले आफ्नो अन्तिम खेलमा ब्रेस्टमाथि २–० को जित हासिल गरेपनि उपाधि जित्न सकेन । लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सिमित भयो ।

एन्जर्सविरुद्ध लिलले खेलको दशौं मिनेटमा जोनाथन डेविडको गोलमा अग्रता लिएको थियो । उनले रेनाटो सान्चेसको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गर्दै लिलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा एन्जेलो फुगीलिनीले एक गोल फर्काए ।

लिलले सन् २०११ पछि पहिलो पटक उपाधि जितेको हो ।  यसअघि सन् २०१०/११ मा लिलले ५७ वर्षपछि लिगको उपाधि जितेको थियो । लिलले समग्रमा चौथो पटक लिगको उपाधि जितेको हो।