भारतलाई कालापानी क्षेत्रबाट सेना हटाउन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह
१५ जेष्ठ २०७७, बिहीबार १६:१०
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन भारत सरकारसँग आग्रह गरेका छन् ।
भारतीय पत्रिका द हिन्दूलाई अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले भारतले कालापानीबाट फिर्ता गर्नुपर्ने बताएका हुन् । कालापानीबाट सेना फिर्ता गरेर त्यो भूभाग नेपाललाई फिर्ता गरे मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्ने पनि परराष्ट्रमन्त्री ज्ञवालीले प्रष्ट पारेका छन् ।
भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन गरेको भन्दै वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् ।
मन्त्री ज्ञवालीले भारतले नेपाली भूभागमा एकतर्फी सडक बनाउन नहुने बताए ।
भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको उनको भनाइ छ । भारतले बिगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि मन्त्री ज्ञवालीले बताए । द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया