वैकल्पिक सरकारबारे जसपा अझै अनिर्णित – Nagarikabhiyan : National News

वैकल्पिक सरकारबारे जसपा अझै अनिर्णित

काठमाडौं । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जसपाको शीर्ष नेताहरुको बैठक कुनै निष्कर्षमा नपुगी टुंगिएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले बिहीबारसम्म एकीकृत धारणा तय गर्ने जानकारी दिए ।

बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकीकृत निर्णय गरिने उनले बताए ।

‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा,’ उनले भने, ‘संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौं । छलफल जारी राख्छौं र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं ।’
भट्टराईकाअनुसार संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने बिहीबार अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी भएको छ । ‘छलफल जारी राख्छौ र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ,’उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ ।