सीमासम्बन्धी बैठक बस्न नेपालले गर्‍यो तारन्तार पहल तर भारतबाट बेवास्ता – Nagarikabhiyan : National News

सीमासम्बन्धी बैठक बस्न नेपालले गर्‍यो तारन्तार पहल तर भारतबाट बेवास्ता

काठमाडौं । सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ। नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रुपमा नै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन।

भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो। बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो।

‘कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रुपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

नेपालले गत वर्ष जुलाईमा पहिलोपटक बैठकका लागि दुई वटा मिति प्रस्ताव गरेको थियो। भारतले कुनै जवाफ दिएन। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।