संकटालाई पहिलोपल्ट आहा राराको उपाधि
२८ चैत्र २०७७, शनिबार १९:३७
पोखरा । १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
ए डिभिजन क्लबले इतिहास रचेर पहिलो पल्ट उपाधी जित्दा गोलरक्षक राजाबाबु थापा नायक बने । उनको उत्कृष्ट बचाउको मद्दतमा संकटाले फाइनलमा अफ्रिकन रुटलानई निराश बनाएको हो । सेमिफाइनल र क्बार्टरफाइनलमा पनि उत्कृष्ट बचाउ गर्दै आएका उनले फाइनलमा उपाधी दिलाउन पेनाल्टि बचाएका थिए ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो। संकटाले एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो भने अफ्रिकनले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको थियो ।
खेलको निर्धारित ९० मिनेटसम्म र थप गरिएको ३० मिनेटको समयसम्म पनि दुबै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे भने सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले विफल पारिदिए ।
प्रतियोगितामा संकटाका राजाबाबु थापा उत्कृष्ट गोलकिपर , संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेण्डर, अफ्रिकनका राफाल उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड अफ्रिकनका बास्टेक भए भने अफ्रिकनका प्रशिक्षक उत्कृष्ट प्रशिक्षक घोषित भए । विजेता टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कप र मेडल दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया