माओवादी केन्द्रबाट पाँच मन्त्रीको सांसद पद खारेज गर्ने तयारी
२४ चैत्र २०७७, मंगलवार १४:१३
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित पाँच जना मन्त्रीलाई कारबाहीको तयारी गरेको छ । माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार गृहमन्त्री ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने तयारी गरेको हो । यसअघि पाँचै जना मन्त्रीलाई पार्टीले स्पष्टिकरण सोधेपनि उनीहरुले जवाफ पठाएका छैनन् ।
‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारबाहीको पत्र तयार भइसकेको छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ । सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’, ती नेताले भने । थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री बन्न ओलीको सरकारमा सहभागी भएका थिए । माओवादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरु भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । पाँच मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया