बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर
१९ चैत्र २०७७, बिहीबार १६:१५
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ। किरण मल्टिपल माइलोमा अर्थात् एक प्रकारको ब्लड क्यान्सरबाट पीडित भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
मल्टिपल माइलोमाबाट पीडित खेरको मुम्बईमा उपचार भइरहेको समाचारमा जनाइएको छ । उनी चण्डिगढबाट भाजपा सांसद समेत हुन् । किरणका पति अनुपम खेरले समेत श्रीमतिलाई ब्लड क्यान्सर भएको पुष्टि गरेका छन् ।
‘किरणलाई मल्टिपल माइलोमा अर्थात् एक प्रकारको ब्लड क्यान्सर भएको कुरा सबैमा अवगत गराउन चाहन्छु’, अनुपमले आफ्नो ट्विटरमार्फत् जानकारी गराएका छन् । साथै उनले आफ्नी श्रीमति ‘फाइटर’ भएको र रोगलाई जितेर झन स्वस्थ हुने समेत बताएका छन् ।
त्यस्तै बुधबार खेरका साथी एंव भाजपा चण्डीगढका सदस्य अरुण सुदले एक पत्रकार संमेलन गर्दै उनको रोगबारे जानकारी गराएका छन् । सुदका अनुसार गत सालदेखि नै खेरको उपचार भइरहेको र उनी निको हुने मार्गमा रहेकी छन् ।
‘गत वर्षको नोभेम्बर ११ मा चण्डिगढस्थित आफ्नै घरमा उहाँको हात भाँचिएको थियो । चण्डिगढस्थित पोष्ट ग्र्याजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्जमा उपचार गर्ने क्रममा उहाँलाई मल्टिपल माइलोमाको प्रारम्भिक लक्षण देखिएको थियो । रोग बाँया हातबाट दाँया काँधसम्म फैलिएको छ । यही क्रममा उहाँलाई उपचारका लागि २०२० ११ डिसेम्बरमा जहाजमार्फत् मुम्बई ल्याइएको थियो । त्यसयता उहाँको लगातार उपचार भइरहेको छ’, सुदले भने ।
किरण खेर चर्चित भारतीय अभिनेता अनुपम खेरकी श्रीमति समेत हुन् । उनले अनुपमसँग सन् १९८५ मा दोस्रो विवाह गरेकी हुन् । किरणको पहिलो विवाह १९७९ मा गौतम बेरीसँग भएको थियो ।
किरणले ‘देवदास’ र ‘रङ दे बसन्ती’सहित कैयौं चलचित्रमा अभिनय गरेकी छन् । विभिन्न टेलिभिजन शोमा प्रस्तोता बनिसकेकी उनी गायिका समेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया