बस र स्कुटर ठोक्किँदा बाबुछोरीसहित ३ जनाको मृत्यु – Nagarikabhiyan : National News

बस र स्कुटर ठोक्किँदा बाबुछोरीसहित ३ जनाको मृत्यु

काठमाडौं ।  बस र स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ ।

शनिबार साँझ  चितवन जिल्लाको भरतपुर महानगरपालिका–२२ पटिहानी पकौडी बजार स्थित सवा ६ बजेतिर स्कुटरमा बाबुछोरी  चढेकाहरु र  बस ठोक्किँदा  दुर्घटनामा तीनैजनाको  ज्यान गएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको छ ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरु तीनैजना मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटरमा सवार थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए ।

स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको डिएसपी थापाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो ।

उपचारको क्रममा सोही अस्पतालमा साँझ ७ बजेतिर उनीहरुको निधन भएको डिएसपी थापाले जानकारी दिए ।