माधव समूहको दुई रणनीति : सके ओलीसंग मिल्ने नभए प्रचण्डसँग सहकार्य
१३ चैत्र २०७७, शुक्रबार २०:१०
काठमाडौं । लामो समयपछि अध्यक्ष केपी शर्मा ओलीसँग एउटै बैठकमा बस्न माधव नेपाल समूह तयार भएको छ । शुक्रबार कंलकी बैठकबाट निर्णय गर्दै नेपाल समूह ओलीले डाकेको बालुवाटार बैठक सहभागी हुन पुग्यो । तर, पार्टी भित्रै संघर्ष गर्न भन्दै बैठकमा सहभागी हुन पुगेको नेपाल समूह पुष्पकमल दाहालसँग समेत निरन्तर छलफल गरिराखेको छ । अोलीले मिल्न जाँदा पेलेको अवस्थामा दाहाल नेतृत्वको माओवादी केन्द्रसँग मिल्न सकिने सम्भावनाका विषयमा पनि नेपाल समूहले छलफल चलाउँदै आएको छ ।
शुक्रबार बिहान कोटेश्वस्थित एक व्यापारीको घरमा दाहाल र नेपालबीच भेटवार्ता भएको छ । भेटमा दाहाल र नेपालबीच आगामी दिनमा के कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा छलफल भएको बुझिएको छ । यसअघि बिहीबार पार्टीलाई स्पष्टीकरण बुझाउनु भन्दा अघि पनि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष दाहालसंग परामर्श गर्नुभएको थियो ।
सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमाले र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद चर्किएको छ । ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ ।
खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ । उता ओलीले पनि आफू पक्षीय नेताहरुको बैठक बोलाएर खनाल–नेपाल समूहका नेताहरु जिम्मेवारी खोस्ने देखि कारवार्ही र स्पष्टीकरण समेत मागीसकेको छ ।
एमालेमा ओली र माधव समूह आ–आफ्नै रणनीतिका साथ अघि बढीरहेका छन् । माधव नेपाल पक्षले तत्काल एमाले छाड्न चाहेको छैन । एमाले छाडेर जाँदा कार्यकर्ता छुट्ने र बाँकी रहेका सांसदको पद पनि जोखिममा पर्ने भएकाले एमालेभित्रै संघर्ष गर्न चाहेको छ । भने ओली पक्षले माधव नेपाल समूहलाई कारवार्हीका सबै प्रक्रिया पर्याएर पार्टी सदस्य र सांसद सदस्यबाट समेत खनाल–नेपाललाई कारवार्ही गर्ने र अन्य नेताहरु व्यत्तिगत कुराकानी गरेर पार्टीमा फर्काउने रणनीतमा छन् ।
को के रणनीतिमा ?
माधव समूह
नेकपा (एमाले) को खनाल–नेपाल समूह पार्टीभित्रै संघर्ष गर्ने निष्कर्षमा पुगेका छन् । यसअघिदेखि नै छुट्टै भेला र बैठक गर्दै आइरहेको खनाल–नेपाल समूहको शुक्रबार कलंकीस्थित एक पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार शुक्रबार दिउँसो ३ बजे अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको दलको बैठकमा खनालसहित सांसदहरु सहभागी पनि भए । माधव पक्षधरका सांसदहरूको नेतृत्व गर्दै बैठकमा उपस्थित हुनुभएका नेता खनालले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राख्नुभएको थियो ।
यदि ओली पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहमत नभए नयाँ ढंगबाट जाने नेपाल पक्षको तयारी छ । त्यो भनेको पुष्पकमल दाहालसँग सहकार्य गर्ने । चाँडै आफ्नो पक्षका कार्यकर्ताहरू संगठित गरेर तलदेखि माथिसम्म कमिटीहरू बनाउने र माओवादी केन्द्रसँग सहकार्य गर्ने रणनीतिमा नेपाल समूह छ ।
ओली पक्षबाट भइरहेको अपमान, खिसिटिउरी र निषेधलाई सहन नसकिने भन्दै जति ढिला गर्यो उति आफूहरुको शत्ति कमजोर कमजोर हुने र सांसदहरू जस्तै नेता कार्यकर्ता पनि बाहिरिन सक्ने खतरा बढेकोले चाँडो भन्दा चांडो वार कि पार गर्न नेपालमाथि पनि दबाब छ ।
ओली समूह
ओली समूहमा पनि पार्टीलाई फुट्न दिनुहुँदैन भन्ने भन्दा माधव समूहलाई तत्काल कारवार्ही गरेर पार्टी सुद्रिढ बनाएर आगाडी बढाउनु पर्ने दबाब बढाएका छन् । जसका कारण पार्टीको तल्लो कमिटिहरुमा समेत नेता कार्यकर्ता विभाजित देखिएका छन् । ओली पक्षमा माधव नेपाल समूहले पुष ५ यता नै पार्टी फुटाएको भन्दै उनीहरुहरु पार्टीमा आउनु वा फुटेर फेरि पुष्पकमल दाहालसँग जानुसँग सरोकार नरहेको बताइरहेको छ ।
माधव नेपाल पक्षबिनाको पार्टी निर्माण भइसकेकाले अब कुनै पनि सर्त मानेर यसअघि बनेका कमिटीहरू खारेज हुन नसक्ने ओलीले बटमलाइन लिइसक्नुभएको छ । उहाँले कुनै गुटसंग सम्झौता नगर्ने पनि बताउँदै आउनुभएको छ ।जनता समाचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया