नेपाल-खनाल समूहका केन्द्रीय सदस्यहरुको बैठक राजधानीमा शुरु
१३ चैत्र २०७७, शुक्रबार १३:१०
काठमाडौं । नेकपा एमालेका नेपाल-खनाल समूहका केन्द्रीय सदस्यहरुको बैठक राजधानी काठमाडौंको कलंकी स्थित मेघा पार्टी प्यालेसमा शुरु भएको छ ।
स्रोतका अनुसार खनाल नेपाल पक्षका सांसदहरु शुक्रवारको बैठकमा सहभागि हुँदैछन् । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले अपरान्ह ३ बजे बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरेका छन् । चैत्र ७ गते शनिवारको बैठकमा खनाल नेपाल पक्ष सहभागि भएको थिएन ।
खनाल नेपाल पक्षको बैठकमा स्पष्टीकरणको जवाफ पठाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल हुने बताइएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएकोमा नेपाल र रावलले बिहीवार स्पष्टीकरण बुझाएका थिए ।
अर्का एक केन्द्रीय सदस्यका अनुसार जिल्ला तहसम्म समानान्तर गतिविधि सञ्चालन गर्ने तयारी छ । खनाल नेपाल पक्षले युवा र विद्यार्थी संगठनको राष्ट्रिय भेला गरी समानान्तर कमिटी गठन गरिसकेको छ । युवा संघको अध्यक्षमा नरेश शाही र विद्यार्थी संगठनको अध्यक्षमा सुदेश पराजुलीलाई जिम्मेवारी दिइसकेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भने गुटगत भेलालाई निरन्तरता दिएको भन्दै नेपाल समूहसँग सम्झौता नगर्ने बताएका छन् । ओलीले गुटसँग सौदावाजी नगर्ने सांसद र केन्द्रीय सदस्यसँग व्यक्तिगत तवरमा छलफल गर्ने बताउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया