प्रचण्डको माओवादी केन्द्रमा अर्काे विद्रोह : यी ५ सांसद एमालेतिर जाने तयारीमा
२६ फाल्गुन २०७७, बुधबार २१:१२
काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी भइसक्दा समेत गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत मन्त्री र नेताहरू माओवादीतिर फर्किने संकेत देखिएको छैन ।
मन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू शाह, मणि थापा, गौरीशंकर चौधरी लगायत पूर्व माओवादी नेताहरू पार्टी ब्यूतिनु अघिदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए ।
माओवादी केन्द्रका ठूल्ठूलै नेताहरू एमालेतिर लागेको बेला अर्काे ठूलो विद्रोह हुने देखिएको छ । २ नम्बर प्रदेशका माओवादी केन्द्रका ५ सांसदहरूले माओवादी छाडेर नेकपा एमालेमा जाने गरी तयारी अगाडि बढाएका छन् ।
प्रदेशसभा सांसदहरू रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिरले माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरिरहेको नेकपा एमाले स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले एमालेमा जाने कुरा छलफलको विषयवस्तु रहेकाले अहिले नै केही भन्नु उचित नरहेको बताएका छन् ।
‘राजनीति एकल विचारबाट गर्ने कुरा नभएकोले हामी सबै जना मिलेर सामूहिक निर्णय गरेका थियौं । माओवादी केन्द्रमै रहने कि छाड्ने भन्ने सवालमा हामीहरु एकजुट भएर छलफल गरेपछि निष्कर्ष निकाल्छौं,’ उनले भने ।
पार्टी विभाजन भएपछि माओवादी केन्द्र कमजोर हुँदा अधिकांश नेता कार्यकर्ताको मोह एमालेतिर देखिएको छ । पार्टी एकता गरेर बनेको नेकपामा कतिपय नेताहरू घुलमिल भइसकेकाले माओवादी नेताहरूलाई एमालेतिर तान्न सजिलो भएको छ । मिडिया डबलीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया