प्रतिनिधिसभा बैठक सुरु हुनुअघि दाहाल-नेपाल सभामुखसँग भेट्ने यस्तो छ कारण
२३ फाल्गुन २०७७, आईतवार १२:३७
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नेकपा दाहाल—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सभामुखसँग भेट गरेका छन् ।
आज बिहान पौने ११ बजेदेखि करिब आधा घण्टासम्म सभामुख सापकोटासँग सिंहदरबारस्थित उनकै कार्यालयमा भेटेका हुन् । बैठकअघि परामर्शका लागि दाहाल र नेपालले सभामुख सापकोटासँग भेट गरेको बताइएको छ ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएका थिए। त्यसपछि सत्तारुढ नेकपा दुई चिरा भएको छ । तर कानुनी रुपमा नेकपा विभाजित भइनसकेकाले आजको बैठकमा त्यसको असर देखिने अनुमान छ ।
सिंहदरबार स्थित सभामुख कार्यकक्षमा भएको भेटमा संसद बैठकमा हुन सक्ने सम्भावित गतिविधि तथा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
नेकपाभित्र व्यवहारिक रुपमा दुईजना संसदीय दलका नेता र दुई जना प्रमुख सचेतक भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया