शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन नगर्ने केपी ओलीको घोषणा, अब प्रचण्डसँग मिल्ने ? – Nagarikabhiyan : National News

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन नगर्ने केपी ओलीको घोषणा, अब प्रचण्डसँग मिल्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भाबी प्रधानमन्त्रीका रूपमा नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै पक्षले अफर गरेको चर्चाबीच ओलीले कसैलाई पनि अफर नगरेको घोषणा गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पारे ।

प्रधानमन्त्री बन्ने दौडमा रहेका सभापति देउवा अब प्रचण्डसँग मिल्छन् ? हेर्न बाँकी छ । नेकपा प्रचण्ड–नेपाल पक्षले भने देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने जनाइएको छ ।

‘एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौं, गर्दैनौं पनि,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरू (प्रचण्ड–नेपाल) को गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ति गरिराख्नुभएको छ ।’

ओलीले मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको लागि संसद विघटन गर्ने बाध्यता रहेको समेत बताए । विप्लव नेकपासँग भएको सहमतिबारे बोल्दै ओलीले भने, ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन ।’

विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण ढंगले राजनीतिक गतिविधि गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्‍याएर नेकपाका नेता तथा कार्यकर्तालाई छाडिने समेत बताएका छन् ।मिडिया डबलीबाट