केपी ओलीको त्यो एसएमएस आएपछि प्रचण्डको ‘एक्सन’
२१ फाल्गुन २०७७, शुक्रबार ११:१५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष छुट्टाछुट्टै रणनीतिमा छन् । फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान भएकाले बैठक बस्ने दिन नजिकिँदै गर्दा विभिन्न पक्षको सक्रियता झन् बढेको छ ।
यस्तै बेला बिहीवार प्रधानमन्त्री ओली पक्षले नेकपा संसदीय दलको बैठक बोलाउँदै ओली, प्रचण्ड–नेपाल सबै पक्षका सांसदलाई एसएमएस पठायो । ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपालसहित सबै सांसदलाई निम्तो पठाएका थिए ।
ओली पक्षले भोलि फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ । ओलीले बैठकमा बोलाएर सांसदहरू आफूतिर तान्न सक्ने सम्भावनाबीच प्रचण्डले त्यसविरुद्ध एक्सन थालेका छन् ।
नेकपा प्रचण्ड–माधव पक्षले आज शुक्रवार दिउँसो १ बजेका लागि सिंहदरबारमा ससंदीय दलको बैठक बोलाएको छ भने ओली पक्षले शनिवार दिउँसो ३ बजे दलको बैठक बोलाएको छ ।
प्रचण्ड–नेपाल पक्षले शुक्रवार बोलाएको बैठकमा प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्ने भएको छ । प्रचण्ड–नेपाल पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरे पनि प्रस्ताव अगाडि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल गर्ने स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समेत शुक्रवारै बस्दैछ । कांग्रेसले दिउँसो २ बजे संसदीय दलको बोलाएको छ ।मिडिया डबलीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया