नीति तथा कार्यक्रम : कोरोना महामारीमा ठूलो जमघट – Nagarikabhiyan : National News

नीति तथा कार्यक्रम : कोरोना महामारीमा ठूलो जमघट

काठमाडौं । आज (शुक्रबार) संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन शुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसको लागि संघीय संसदमा विशेष तामझाममा कुनै कमी देखिएको छैन । संसद सचिवालयले ‘डमी’ राष्ट्रपति बाएर स्वागत, सलामी र सम्बोधनका लागि एक दिन अगाबै रिहर्सल गर्ने गरेको छ । संसद भवनलाई सिंगार्नेदेखि राष्ट्रपतिको स्वागत र सत्कारमा विगतजस्तै सबै प्रक्रिया पूरा गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । तर, यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई भने बोलाइएको छैन ।

कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी बस्नु पर्ने बाध्यताका कारण स्थान अभाव भएपछि विदेशी राजदूतलगायतका कूटनीतिज्ञहरुलाई नबोलाइएको संसद सचिवालयले जनाएको छ ।

यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यस्तो विषम परिस्थितिका बेला पनि राजा–महाराजाको झल्को लिने प्रवृत्ति भएकोमा आपत्ति जनाएका छन् ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कोरोनाले मुलुक आक्रान्त बनाएको बेला संसदमा राष्ट्रिय झन्डा राख्नेबाहेक अन्य कुनै पनि तामझाम नसुहाउने बताएका छन् ।

यस विषम परिस्थितिमा संसदले पूरा गर्नुपर्ने जिम्मेवारी मात्र वहन गर्नुपर्ने उनको भनाई छ ।

यसैगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कोरोना संक्रमण बढेकाले तामझाम नगरी राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सम्बोधन गराउनुपर्ने सुझाव सचिवालयलाई दिइएको थियो । तर, सचिवालयले सुझावलाई बेवास्ता गर्दै सामान्य अवस्थाको विगतकै जस्तो तयारी गरेको हो ।

यता नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ ।
सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । बैठक कक्षमा नअटे बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ । संसद भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । द नेपालटपबाट