सम्धिनीसँग किन रिसाए रामवरण? शीतल निवासमा खैलाबैला!
९ फाल्गुन २०७७, आईतवार १३:००
काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी सम्धी सम्धिनी हुन् ।
रामवरण यादवकी भतिजा तथा कांग्रेस सांसद किरण यादवका कान्छा छोरा अभिषेक यादव र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीबीच १ वर्षअघि विहे भएपछि रामवरण र विद्याको राजनीतिक सम्बन्धले पारिवारिक रुप लियो । नयाँ नाम पायो सम्धी सम्धिनी । दुई पार्टीका शीर्ष नेताहरु सर्वोच्च पद राष्ट्रपतिमा पुगेपछि पारिवारिक नाता गाँसिएको नेपाली राजनीतिक इतिहासमै पहिलो र उदाहरणीय घटना थियो । पहाड र मधेसलाई जोडेकाले पनि प्रशंसायोग्य सम्बन्ध बनेको थियो ।
तर पछिल्लो समय रामवरण सम्धिनी अर्थात राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आक्रामक देखिन्छन् । नेपाली कांग्रेसभित्र कोइराला (अहिलेको पौडेल) समूह निकट मानिने यादव सक्रिय राजनीतिमा त छैनन् तर प्रतिनिधिसभा विघटनमा रामचन्द्र पौडेलले बोकेको विचारलाई अनुशरण गरेर विरोधमा बोलिरहेका छन् । प्रतिनिधिसभा विघटनमा कांग्रेसले प्रधानमन्त्रीको विरोध गरे पनि राष्ट्रपतिविरुद्ध बोलेको छैन । तर रामवरण पौडेलको समूहको लाइनमा गएर रामवरण राष्ट्रपतिको आलोचना र विरोधमा उत्रिएका छन् ।
रामवरणले पारिवारिक सम्बन्धको समेत ख्याल नगरी ‘विद्या भण्डारीका कारण देशमा ग्रहण लाग्यो’ भनेर सम्धिनीको कडा आलोचना गरेका छन् । संविधान रक्षा गर्नुपर्ने दायित्वबाट च्युत भएको उनको आरोप छ ।
जनकपुरमा शुक्रवार आयोजित ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचार संग्रह’ लोकार्पण कार्यक्रममा पूर्व राष्ट्रपति यादवले भने, ‘बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनुपर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गर्नुभयो । संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपर्थ्यो ।’ संविधान रक्षा गर्ने दायित्व बोकेकी राष्ट्रपति भण्डारीले ‘कुलिङ पिरियड’ लिएर अगाडि बढ्नुपर्ने समयमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेको यादवको टिप्पणी थियो । प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको उनको टिप्पणी थियो ।
रामवरणका पछिल्ला टिप्पणीबाट शीतल निवास असन्तुष्ट रहेको बुझिएको छ । सम्धिनी विद्याले परिवारभित्रै सहयोग नभएको, आलोचना मात्रै गरेको भन्दै आफ्नी छोरीमार्फत गुनासो गरेको जानकार स्रोत बताउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया