फुटको अन्तिम संघारमा जसपा, विवाद छताछुल्ल, बाबुराम र उपेन्द्र ‘जिरो’ – Nagarikabhiyan : National News

फुटको अन्तिम संघारमा जसपा, विवाद छताछुल्ल, बाबुराम र उपेन्द्र ‘जिरो’

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद छताछुल्ल भएर बाहिर आएको छ ।

जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपा नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको नजिक पुगेको हो ।

उपेन्द्र र बाबुराम जसपामा हाबी भएका छन् । यी दुई नेताहरूको निर्देशनमा पूर्व राजपाका नेताहरूलाई अवसरबाट बन्चित गराउने गरिएको छ ।

यसैबीच, पूर्वराजपाका नेताहरूलाई मात्रै बोलाएर राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले काठमाडौंमा वृहत विद्यार्थी भेलाको आयोजना गरेको छ ।

फाल्गुण १२ गते हुने भेलामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झालाई मात्रै बोलाइएको छ ।

उनीहरूलाई प्रमुख वक्ताका रुपमा राखिएको छ भने उपेन्द्र र बाबुरामलाई अतिथिको रुपमा समेत बोलाईएको छैन् । त्यस्तै, कार्यक्रमका लागि बनाईएको ब्यानरमा यी दुई नेताको फोटो समेत समेत छैन् ।

ब्यानरमा जसपाको चुनाव चिन्ह र जसपाकै झण्डा हुँदा समेत राखिनु तर बाबुराम र उपेन्द्रको तस्विरलाई स्थान नदिनुले पार्टी भित्रको झगडा अब सतहमा पुग्नै लागेको जसपा निकट एक नेताले बताए।

Rashtriya Bidhyarthi sangh Programe.jpg

केही समय अगाडि सिरहामा भएको कार्यक्रममा उपेन्द्रले रेणु यादवलाई प्रमुख अतिथि बनाएर राजकिशोर यादवलाई जुनियर नेताहरूभन्दा तल आसन ग्रहण गराएपछि राजकिशोरसहितका उनको समूहले कार्यक्रम बहिस्कार गरेको थियो । सिरहा घटनाबाट पूर्व राजपाका नेताहरू झस्किएका छन् ।

उपेन्द्रले पार्टीभित्र निरंकुशता लाद्दै आएका छन् । उपेन्द्रको त्यही व्यवहारले गर्दा उनको पार्टी पटक पटक फुट्ने गरेको छ । बाबुराम पनि उपेन्द्रकै लाइनमा छन् । बाबुराम पनि एउटा पार्टीमा लामो समय टिकेर बस्न सक्दैनन् ।