प्रचण्ड-माधवदेखि जसपा र राप्रपालाई सिध्याउने यस्तो छ ओलीको अस्त्र, चुनावमा पनि फाईदा!
२ फाल्गुन २०७७, आईतवार १२:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइ बहुमतको उद्देश्यसहित संसद विघटन गरेर चुनावमा होमिएका छन् । अहिले एमाले र पूर्वमाओवादी गरी दुई पार्टी मिल्दा बहुमत आएको र ओली एक्लैले कसरी बहुमत ल्याउँछन् भन्ने प्रश्न उठेको छ । यो प्रश्न अदालतका इजलासमा समेत गुन्जिरहेको छ । तर प्रधानमन्त्री बडो आत्मविश्वासका साथ ५० लाख भोट ल्याएर दुई तिहाइ बहुमतको सरकार चलाउने बताइरहेका छन् । यो कसरी सम्भव छ त?
यसमा ओलीसँग नजिक रहेर काम गरेका राजनीतिक विश्लेषक एवं लेखक अरुण कुमार सुवेदी दुइ तिहाइ ल्याउन ओलीले संघीयता र धर्म निरपेक्षतामा पुनर्विचार गर्ने टिप्पणी गरेका छन् । यी दुई एजेण्डा ओलीलाई पहिल्यैदेखि मन नपरेको र पुष्पकमल दाहालको दबाब आयातित रुपमा जनमतविरुद्ध लादिएका एजेण्डा पुनर्विचार स्वागतयोग्य भएको र यसलाई सारा जनताले समर्थन गर्ने सुवेदीको विश्लेषण छ । एपिवान टेलिभिजनमा पत्रकार टिकाराम यात्रीसँग कुरा गर्दै सुवेदीले यी एजेण्डा बोकेर अगाडि बढे राप्रपा, राजपा र बाहिरको ठूलो जमात ओलीसँग हुने भविष्यवाणी समेत गरेका छन् । सांस्कृति राष्ट्रियतालाई अंगालेका ओलीसँग यहीँ कारण पूर्वमाओवादी नेताहरु आकर्षित भएको उनको तर्क छ । गृहमन्त्री रामबहादुर थापा बादल, मणि थापाहरुको चाहना नै सांस्कृतिक राष्ट्रियता भएको र ओलीसँग मिल्न गएको सुवेदीले बताए ।
यस्तो छ सुवेदीको तर्क
संविधानबाट ओलीले सकस महसुस गरे। विकास र समृद्धिमा राजनीतिक र पद्धतीय बाधा महसुस गरेर विघटन गरे । पुरै राजनीतिक एजेण्डा ओलीबाट आइरहेको छ । चुनावबाट अर्को सरकार बनाउनका लागि मात्रै यो कदम चालिएको होइन । प्रणाली विस्थापनकै प्रक्रिया हो ।
एक त उहाँको के छ भने धर्म निरपेक्षता र संघीयताको विरुद्धमा उहाँका बरिपरिका सहयोगी राजनीतिकर्मी र मन्त्रीबाट मुखरित रुपमा आइरहेको छ । ओली स्वयले संविधान बनिसकेपछि टेलिभिजन अन्तर्वार्तामा यी मुद्दालाई आयातित र बाध्यतावंश आफूले स्वीकार भएको भन्नुभयो । बारम्बार यी विषयमा असहमति जनाउनुभयो । अहिले पनि जनाउँदै हुनुहुन्छ । यसकारण संगठन भन्दा बाहिर ओलीको लोकप्रियता छ । संगठनमा र कार्यकर्तामा देउवा, प्रचण्ड नेपालकै होला तर त्यो बाहिरको जमातमा, जनतामा ओली लोकप्रिय स्थापित छन् । किनभने नेपाली जनतालाई दिलमा छोएको विषयहरु सांस्कृतिक राष्ट्रियतासहित ति एजेण्डा मुखरित भएर उठाइदिनुभयो । सांस्कृतिक राष्ट्रवाद नेपाली जनताले चाहेको आवश्यकता हो । तर अहिलेको संविधानले स्वीकार गर्दैन् । प्रजातान्त्रिक प्रणालीलाई प्रत्याभूत गर्ने बाहेकका संवैधानिक विशेषताहरुलाई विस्थापना गर्नका लागि राजनीतिक एजेण्डा सेट गर्नुभएको छ संसद विघटन गरेर ।
संविधान बन्नुअघि उहाँ संघीयता र धर्म निरपेक्षतामा प्रखर रुपले असहमत नै देखिनुहुन्थ्यो । भूकम्प आएको दिन विहान बाबा रामदेवको योग कार्यक्रममा पनि उहाँले प्रष्ट रुपमा यी दुई कुराको विरोधमा विचार व्यक्त गर्नुभयो । तर के त्यस्तो बाध्यता पर्यो, संविधानलाई अन्तिममा जनताको मत नलिएर, जनमत नलिई त्यसलाई समर्थन गर्नुपर्ने बाध्यता आयो त्यो रहस्यमै छ । तर उहाँका पछिल्ला गतिविधिहरु त्यसलाई सुधार्नेमा देखिन्छ ।
संविधानमा संघीयता र धर्म निरपेक्षता हुन नहुने अडानमा रहेका ओलीले अन्तिममा युटर्न लिएका थिए । तर अहिले पुरानै एजेण्डामा फर्किएका छन् । सांस्कृतिक राष्ट्रियता र सांस्कृतिक राष्ट्रियताका लागि संघीयताको सिद्धान्त नमानेको संघीयता विस्थापनका लागि ओली बढी प्रतिबद्ध देखिन्छन् । जनताले पनि चाहेका छन् ।
हिन्दु राष्ट्रवादी नेकपा निर्माण गर्न खोजेका छन् रु लिबरल कन्जरभेटिजतिर जान खोजेका हुन् ? यसमा उनले पशुपतिमा गएर पूजा गर्नुले देखाउँछ । उहाँ पशुपतिमा पूजा गर्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री हो । यसबाट उहाँ लिबर धारप्रति आकर्षण देखिन्छ । सांस्कृतिक राष्ट्रियताप्रति आकर्षण छ ।
सांस्कृतिक राष्ट्रियता र राष्ट्रवादतिर ओली ढल्केका छन् । नयाँ मोडेलको नयाँ गन्तव्य सहितको लिडर बन्नुहुन्छ ।
सांस्कृतिक राष्ट्रियताको अभियानमा गृहमन्त्री रामबहादुर थापा बादल, खानेपानी मन्त्री मणि थापा, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ (साइलेन्ट किलर) उहाँहरुको परिस्थिति केपी ओलीले लिएको अडानको प्रतिबिम्व हो ।
उहाँहरुले यसलाई जुन दिन पार्टीको मेनिफेस्टोमा इनडक्ट गर्नुहुन्छ त्यहीँ दिनदेखि मान्छेहरुले पुनर्विचार गर्न सुरु गर्छ । कांग्रेस, राप्रपा, राजपामा भएका, फुटकर रहेका धेरै पात्रहरु उहाँसँग जोडिन सक्छन् । उहाँले यो लाइनलाई अगाडि बढाउनुभयो भने पोलिटिकल रिकम्बिनेसनको सम्भावना छ । तर यो ठूलो जोखिम हो । एउटा यो प्रणाली विस्थापनको प्रक्रिया पनि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया