राजा बिरेन्द्रले पचाएको मदन भण्डारीको त्यो लल्कार अनि राष्ट्रपति विद्याले नसहेको रामकुमारीको यो लल्कार
२९ माघ २०७७, बिहीबार १९:४४
काठमाडौं । २०४७ चैत ५ गतेको दिन काठमाडौंमा तत्कालिन नेकपा एमालेले विशाल चुनावी सभा आयोजना गरिएको थियो । सो चुनावी सभालाई सम्बोधन गर्दै एमालेका तत्कालिन महासचिव मदन भण्डारीले तत्कालिन राजा बिरेन्द्रलाई ‘राजनीतिमा आउने हो भने श्रीपेच खोलेर र चुनाव लडेर आउन’ चुनौति दिएका थिए । उनले त्यस बखत भनेका थिए, ‘मान-सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज, हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस्, आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् ।’
तत्कालिन राजा बिरेन्द्रप्रतिको नेता भण्डारीको वाणी त्यत्तिकैमा रोकिएको थिएन । उनले आफ्नो सम्बोधनका क्रममा अघि बढ्दै भनेका थिए,‘यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’
मदन भण्डारीले ३० वर्ष अघिको त्यो चुनावी सभामा उल्लेख गरेका न राजा छन् न उनै भण्डारी नै । राजाको श्रीपेच उतारिएको छ र देशमा गणतन्त्र र संघियताको अभ्यास भइरहेको छ । राजनीतिक दलहरुका संयुक्त प्रयासबाट जनताको छोराछोरीले मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् । देशको नेतृत्व र कार्यकारी नेतृत्व दुबै जनताका प्रतिनिधिले गर्दै आएका छन् । संयोगले त्यतिखेर राजा बिरेन्द्रलाई लल्कार्ने भण्डारीकै श्रीमती गणतन्त्र नेपालकव दोस्रो राष्ट्रपतिका रुपमा विराजमान छिन् ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै आएका छौं भन्ने कुरा संविधान र कानूनलाई हेरेर भन्ने अवस्था छ तर व्यवहार भने ठ्याक्केै उल्टो । संविधानमा नै व्यवस्था गरिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग भने नागरिकले अझै गर्न पाइरहेका छैनन् भन्ने उदाहरण अहिले उनै राजालाई लल्कार्ने भण्डारीकी पत्नीको कार्यकालमा देशले भोग्न थालेको छ। बिहीबार प्रहरीले राज्य बिरुद्धको कसुरको अभियोगमा नेकपाकी नेतृ तथा राष्ट्रपति भण्डारीकी आलोचक समेत रहेकी रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नो विवाहको ११औं बर्षगाँठ मनाइरहेकी उनलाई प्रधानमन्त्री केपी ओली सरकारले पक्रेर बर्षगाँठको उपहार दिएको छ।
पक्राउ दिनु अघी झाँक्रीले आफूले सार्वजनिक रुपमा राखेका अभिव्यक्तिकै आधारमा सरकारले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश’ लागेको बताएकी थिइन् । उनले कानुन मान्ने इमान्दार नागरिक भएकाले गिरफ्तारी दिने भन्दै प्रहरीलाई आफ्नो गिरफ्तारीसमेत दिइसकेकी छिन् । तर उनको यो गिरप्तारीले सरकारको नियत र उसले लिएको बाटोलाई अझ प्रष्ट पारेको देखिएको छ । राजनीतिक तहबाट आएका अभिव्यक्तिलाई राजनीतिक रुपमा प्रतिवाद गर्ने वा निकास निकाल्ने प्रयास विपरित कानुनको डण्डा देखाएर तर्साउने प्रयास अहिलेको यो लोकतान्त्रिक गणतन्त्रमा सम्भव छ त ? नेकपाको आन्तरिक राजनीतिमा संलग्न भएपछि विवादमा तानिएकी राष्ट्रपति भण्डारीलाई चुनावी मैदानमा आउन चुनौती दिने कार्यलाई अपराधमा दर्ज गर्ने हो भने हिजो मदन भण्डारी यस्ता संगिन अपराधमा कतिपटक पक्राउ परेका थिए खोज्नुपर्ने हुन्छ । तर खुसीको कुरा भर्खर प्रजातन्त्र आएको सो समयमा यसलाई अलि कडा अभिव्यक्तिको रुपमा लिइए पनि राजे्य विरुद्धको अपराध ठानिएन । भण्डारी तत्कालिन राजालाई चुनौति दिएको अभियोगमा हिरासतमा जानु परेन। तर अहिले देश अझ उन्नत लोकतन्त्रको आवरणमा भए पनि हिजो लोकतन्त्रका लागि लडेका उनै नेताहरुको बारेमा बोलिएका कुराले अर्को व्यक्ति हिरासतमा जानुपर्ने अवस्था सिर्जना भएको छ । यतिखेर झाँक्री पक्राउ प्रकरणसँगै २०४७ सालमा मदन भण्डारीको सो भाषण फेरि चर्चामा आउन थालेको छ । के राष्ट्रपति भण्डारीले त्यसलाई सुन्ने क्षमता राख्लिन? अहिले धेरैले मनमा यो प्रश्नले घर गरेको छ ।
हाम्राकुराबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया