अधिनायकवाद लाद्न खोजेको छ : कार्की
३ माघ २०७७, शनिबार १६:३४
इनरुवा । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संसद विघटन गरेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । कम्यूनिष्ट सरकारले मुलुकमा संकट ल्याउन खोजेको बताउनुहुदै कार्कीले अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभएको हो ।
नेपाली कांग्रेसले सनिबार पूर्व घोषित सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत सुनसरीको बराहक्षेत्रमा आयोजित विरोध सभालाई सम्बोधन गर्नुहुदै कार्कीले सो कुरा बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अनुसार देशको सात सय ५३ वटै पालिकामा प्रदर्शन गरेको र देशमा संकट ल्याउन खोजेकाले त्यसको विरुद्ध काग्रेंस लागेको बताउनुभयो ।
संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रेको काग्रेंसले संसद पुरस्थापना गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो । वहाँले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस देशव्यापी आन्दोलित बनेको र सरकार अधिनायकवाद तर्फ उन्मुख भएकाले आन्दोलनमा उत्रेको बताउनुभयो ।
विरोध सभालाई सम्वोधन गर्नुहुदैं कार्कीले मुलुकमा संकट ल्याउन खोजनेहरुको सपना पूरा हुन नदिनका लागि देशभर कांग्रेसले विरोध सभाको आयोजना गरेको बताउनुभयो । मुलुकमा वर्तमान सरकारले असवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध सभा गरेर अधिनायकवाद र सर्वसत्तावादको विरुद्ध आवाज उठाएको स्पष्ट पार्नुभयो ।
वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने नारा भनाईमा मात्र सिमित रहेकाले नेपाली जनताको पक्षमा कहिल्यै पनि कम्यूनिष्ट उभिएको नदेखिएको आरोप लगाउनुभयो । वहाँले भन्नुभयो ‘कम्यूनिष्ट सरकारले नारा दिएर लोकप्रियता कमाउन सफल भएपनि जनताको मन जित्न भने नसकेको अवस्था छ’ । वर्तमान झन्झटिलो परिस्थिती को निर्माण केपी शर्मा ओली नेतृत्वको सरकारले सिर्जना गरेको भन्दै नेता कार्कीले समस्यालाई समाधान गर्नका लागि नेपाली कांग्रेस तयार रहेको बताउनुभयो ।
संकटले देशमा दुर्घटनाको सम्भावना बढ्दै गएको तर्फ इंगित गर्दै नेता कार्कीले मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउन र लोकतन्त्र तथा संविधानको रक्षाका निम्ति नेपाली कांग्रेस जनतामाझ आएको बताउनुभयो । वहाँले देश बचाउने अभियानमा जनताको पूर्ण समर्थन नेपाली कांग्रेसले पाएको आभाष आफूले पाएको बताउनुभयो । बराहक्षेत्रमा आयोजित कार्यक्रममा जिल्ला कोषाध्याक्ष पंकज महतो सहितका नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो ।
आसन्न निर्वाचनमा प्रजातन्त्र लोकतन्त्र र जनताको संविधानलाई पूर्ण रुपमा जिवित राख्न नेपाली जनताले कांग्रेसलाई नै छनौट गरी देशको नेतृत्व दिने भन्ने कुरामा आफू विश्वस्त रेहेको बताउँदै कार्कीले त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी नेपाली जनतामाझ एक पटक फेरी आएको कारण यसको जर्गेनाका निम्ति नेपाली कांग्रेसको विकल्प नरहेको बताउनुभयो ।
यसैबीच सुनसरीको धरान, इटहरी, दुहवी, वर्जु, गढी, कोशी, भोक्राहा नरसिंह, हरिनगर, इनरुवा, देवानगञ्ज, रामधुनी र बराहक्षेत्रमा समेत विरोध प्रदर्शन र कोण सभा गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया