प्रधानमन्त्री ओली अराजक भएकाले मुलुक द्वन्द्वमा फस्दैछ : कोइराला – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओली अराजक भएकाले मुलुक द्वन्द्वमा फस्दैछ : कोइराला

विराटनगर — कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक भएकाले मुलुक द्वन्द्वमा फस्दै गएको बताएका छन् ।मानव अधिकार तथा शान्ति समाज मोरङले शनिबार आयोजना गरेको ‘असंवैधानिक एवं अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन : प्रतिगमनको सिलसिला’ विषयक गोष्ठीमा कोइरालाले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब दिइरहेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री ओलीजीले मैले जे बोलेँ, जे भनेँ त्यही संविधान हो भन्ने बुझ्नु हुन्छ तर त्यो नेपाली जनतालाई स्वीकार छैन,’ कोइरालाले भने, ‘त्यसैले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउन मुलुकमा अब एक पटक पुन: सशक्त आन्दोलनको आवश्यकता परेको छ ।’

२०६२/०६३ को आन्दोलनमा आफूलगायत नेताहरु काठमाडौंमा जेल परेको बेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले प्रहरीले भनेअनुसार सही गरेर जेल बाहिर निस्किन दिएको सल्लाह सम्झिँदै कोइरालाले भने, ‘मुलुक द्वन्द्वको अँध्यारो टनेलमा फस्दै गएकाले त्यसलाई रोक्न प्रतिनिधिसभा पुन:स्थापनाका लागि लडौं ।’

प्रधानमन्त्री ओलीले वैशाख १७ गते निर्वाचन गराउन प्रतिनिधिसभा विघटन गरेको हो कि अरु विषय पनि छ भनी मानव अधिकारकर्मी, नागरिक समाज तथा बुद्धिजिवीलाई सोच्न र त्यही अनुसार निर्णय लिएर आन्दोलनमा जुट्न कोइरालाले आग्रह गरे ।

‘प्रधानमन्त्री ओलीजी संघीयता विरोधी हो, त्यसैले अर्को विधेयक ल्याएर प्रमुख जिल्ला अधिकारीलाई अहिलेको भन्दा दोब्बर अधिकार थप्न लाग्नु भएको छ,’ उनले भने, ‘त्यसैले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र राष्ट्र बचाउने दायित्व सबैको काँधमा आएको छ ।’

प्रतिनिधिसभा पुन:स्थापनाका लागि जुन गतिका साथ आन्दोलन अघि बढ्नु पर्ने हो त्यो गति नपाइरहेको कोइरालाको भनाइ थियो । ‘सर्वोच्च अदालतको निर्णय स्वीकारौंला तर निर्णय आउनुभन्दा अगाडि पुन:स्थापनाका लागि आन्दोलन सशक्त बनाउनु पर्छ,’ उनले भने, ‘जसले सर्वोच्च अदालतले पुन:स्थापनाकै पक्षमा निर्णय गर्छ भन्ने विश्वास छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले व्यक्तिलाई महत्व दिएकाले प्रतिनिधिसभा पुन:स्थापनाका लागि आन्दोलन सशक्त नभइरहेको र कांग्रेसको भूमिका नदेखिएको कोइरालाको आरोप छ । ‘सभापति देउवाजी दुविधामा हुनुहुन्छ,’ उनले भने, ‘गलतलाई गलत भन्न नसक्ने राजनीतिक दलको अस्तित्व रहँदैन भन्ने कुरो सबैले बुझ्नु आवश्यक छ ।’

आन्दोलनले गति नलिनुमा सभापति देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि गल्ती रहेको कोइरालाको भनाइ थियो । ‘प्रधानमन्त्रीजीले अढाई वर्षदेखि संविधान कुल्चेर विभिन्न अधिकारहरु आफूमातहत ल्याइरहँदासम्म दाहाल र नेपाल मौन बस्नु गल्ती हो,’ उनले भने, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएदेखि सभापति देउवा पनि शंकाको घेरामा पर्नु भएको छ ।’ त्यसैले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक भएकाले त्यसलाई टेकेर नियुक्ति गरेका सबैलाई खारेज गर्नुपर्ने कोइरालाको भनाइ थियो ।

मनव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले गणतान्त्रिक व्यवस्था धरापमा परेको बताएका छन् । ‘संविधान असफल बनाउने प्रक्रियामा मुलुक अघि बढिसकेको छ,’ उनले भने, ‘मुलुकमा २०४७ सालको संविधान पुन:स्थापना गर्ने अभियान सुरु भइसकेको छ ।’

राजतन्त्रको मतियार नभएको अवस्थामा मुलुकमा प्रतिनिधिसभा पुन:स्थापना हुने पहाडीको भनाइ थियो । ‘भावी पुस्ताको भविष्यका लागि एक पटक पुन: सडकमा आउनु पर्ने बेला आइसकेको छ,’ उनले भने, ‘सर्वोच्चको खुट्टा भाँच्न कसैले पनि पाउँदैनन् त्यसैले जनताले न्याय पाउने आशा गरेका छन् ।’

प्रदेश १ का जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मतभिन्नताले प्रतिनिधिसभा पुन:स्थापनाको आन्दोलन कमजोर भएको आरोप लगाए ।

kantipur bat