काँग्रेस फेरि आन्दोलनमा – Nagarikabhiyan : National News

काँग्रेस फेरि आन्दोलनमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । केही दिन स्थगित भएर बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

बैठकले पार्टी आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पुस २५ गते काँग्रेसले प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्नेछ ।

घोषित कार्यक्रमअनुसार माघ ८ गते सबै वडामा विरोध सभा गरिने छ । ‘बैठकले माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको छ ।’

बैठकमा महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । त्यस्तै यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तबाट बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ ।

काँग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।