निर्वाचन पछि बहुमत-अल्पमतको टुंगो लाग्छ : ओली
१७ पुष २०७७, शुक्रबार १५:३१
काठमाडौं । संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणापछि विभाजन भएको सत्तारुढ नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बहुमत अल्पमतको टुंगो चुनाव पछि हुने बताएका छन् ।
प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै आधिकारिक नेकपा आफूहरु भएको दाबी गरिरहेका बेला त्यसको टुंगो निर्वाचन पछि लाग्ने प्रधानमन्त्री ओलीेले बताए । ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ’, ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै ओली भने, ‘बहुमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । चुनावपछि बहुमत को हो, अल्पमत को हो ? प्रमुख पार्टी को हो ? तपाई हामीले देख्ने छौं ।’
प्रचण्ड-माधव समूहसँग बहुमत भएको भए उनीहरु संसदीय अभ्यासअनुसार वा पार्टी बैठकमा आउने उनको भनाइ छ ।
पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको उनले दाबी गरे । पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको ओलीको टिप्पाणी छ ।
पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्नेतिर प्रचण्ड-माधव समूह लागेको भन्दै यसले कार्यकर्तामा भिडन्तको अवस्था सिर्जना गरेको उनले बताए । संविधानकै कार्यान्वनका लागि संसद विघटनको कदम चालेको ओलीको स्पष्टिकरण छ । द नेपालटपमा लेखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया