अविश्वासको प्रस्तावको सामना आरामले गर्छु : मुख्यमन्त्री राई
१२ पुष २०७७, आईतवार १६:३७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन्। आइतबार पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना सजिलै गर्ने बताए।
मुख्य मन्त्रीले नराम्रो काम गरेर, काम गर्ननसकेर वा नालायक भएर अविश्वासको प्रस्ताव दर्ता नभएको स्पष्ट पारे। ‘प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव बनिबनाउ, सुनियोजित निर्देशित चालबाजी हो भन्नेकुरा प्रदेशसभा सदस्यहरूलाई राम्ररी थाहा भएकाले सुविधाजनक बहुमतका आधारमा अविश्वासको प्रस्तावको सामना गर्छु’, उनले भने । अविश्वासको प्रस्ताव संघीयता र प्रदेश माथि कै प्रहार भएकाले प्रदेश सभाका बहुमत सदस्यहरू अविश्वासको प्रस्तावको विपक्षमा रहेको उनको दाबी छ। उनले सबै दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन्।
नेकपा एउटै नभएकाले दलभित्र बहुमतको अर्थ नरहेको उनले स्पष्ट पारे। संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्नेमा विधानको उलंघन गर्दै प्रदेश सभामा प्रस्ताव लिएर गएको उनको भनाई छ। नागरकि दैनिकमा लेखिएको छ । ‘संसदीय दलमा ल्याउनुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गर्नु विधान विपरित छ’, उनले भने। उनीहरुको संख्याले सरकार नबन्ने भएकाले प्रदेशसभाबाटै छिनोफानो हुने पनि राईले स्पष्ट पारे। संघीयता बचाउन सबैदललाई आग्रह गरिसकेको।
नेपाली कांग्रेस विना सरकार बन्ने अवस्था नभएको राईले स्पष्ट पारे। एउटा कोठामा गरिएको गणीतिय गणनाको अर्थ नभएको उनले बताए। अरुकसैले परिकल्पना गरेको सरकार यो प्रदेशमा नबन्ने भन्दै उनले प्रदेशसभाले विवेक नगुमाउने दाबी पनि गरे । ‘प्रदेशसभाले विवेक गुमाउँदैन’, उनले भने ‘प्रदेशसभामा गलत मनशाय भएका व्यक्तिहरूले जित्ने अवस्था छैन।’ अविश्वासको प्रस्तावबारे अध्ययन गरिरहेको भन्दै उनले प्रदेशसभामा प्रस्तावमा लगाइएको आरोपको जवाफ दिने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया