ओलीको सन्देश बोकेर महासचिव पौडेल पुगे प्रचण्ड निवास खुमलटार
२ मंसिर २०७७, मंगलवार १२:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर महासचिव पौडेल मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
पछिल्लो महिनादेखि पार्टीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप ओली दूत बनेर महासचिव पौडेल प्रचण्ड भेट्न पुगेका हुन् ।
प्रचण्डसँग भेट गरेर पौडेल फर्किएका छन् । उनीहरुबिच विवाद समाधानको प्रयासबारे छलफल भएको बताइए पनि थप कुरा सार्वजनिक भएको छैन ।
यसैगरी प्रधानमन्त्री ओलीले सोमबार प्रचण्ड पक्षका माधवकुमार नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।
ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक बस्ने अडान लिएको छ ।
तर, प्रचण्ड पक्षका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै आएका छन् ।
नेता नेपाल र गौतमले ओलीलाई आफ्नो कार्यशैली सच्याउन चुनौती पनि दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया