आउँदा खेरी जसरी हाँसेर आएको छु, जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु : मन्त्री चौधरी – Nagarikabhiyan : National News

आउँदा खेरी जसरी हाँसेर आएको छु, जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु : मन्त्री चौधरी

काठमाडौं । सहरी विकासमन्त्री भेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताएका हुन् ।

बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौंधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।।

मन्त्री चौंधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनेल भने, ‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरी रहि रहँदिन । त्यसै म आउँदा खेरी जसरी हाँसेर आएको छु । जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु ।’

त्यस अवसरमा मन्त्री चौंधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अव सार्वजनिक गर्ने उनको भनाइ थियो ।