उपप्रमुखमा निर्वाचित महिलाले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्छ : पूर्णकुमारी सुवेदी – Nagarikabhiyan : National News

उपप्रमुखमा निर्वाचित महिलाले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्छ : पूर्णकुमारी सुवेदी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताएकी हुन् ।

त्यसको निम्ति आउने बाधा, अड्चनमा आफूहरुले साथ दिने उनले बताइन् । उनले महिला जनप्रतिनिधिहरुले महिलाहरुको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडि ल्याउनुपर्ने पनि बताइन् । निर्वाचित जनप्रतिनिधिहरुलाई जनतालाई निराश नबनाउन पनि उनले आग्रह गरिन् ।

उनले भनिन्, ‘यो अवसरलाई कसरी हामीले सदुपयोग गर्ने ? तपाईहरु समाजमा गएर, जनताको सेवामा सर्पपित भएर, जनताको मन जितेर, जनतालाई आकर्षित गरेर, जनतालाई विश्वास दिलाएर तपाईहरु यहाँ आउनुभएको छ । यो जनताको विश्वासलाई, जनताको माया, सद्भावलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ । जनतालाई निराश बनाउनु हुँदैन । अझ बढी तपाईहरुको दोहोरो भूमिका हुन्छ । एउटा, समाजसेवा, राजनीतिक सेवा । दोस्रो महिलाहरुको क्षमता विकास । महिलाहरुलाई पनि आफू सँगसँगै अगाडी ल्याउनुप¥यो ।’

उनले थप भनेकी छन्, ‘पार्टीले दिएको यो अवसरलाई चुनौतीको रुपमा लिदैँ सामना गर्ने । सामना गर्ने हतियार भनेको हाम्रो विचार हो । तपाईहरु जति उपप्रमुख हुनुभएको छ, सबै भोलिको लागि प्रमुखको लागि तयारी गर्नुहोला । त्यसमा के–के बाधा, अड्चन आउँछन् हामी छौँ । पार्टी छ । समाजका सबै अवरोधहरुलाई सामना गर्नुहोला । सबै अवरोधहरुलाई पन्छाउँदै अगाडि बढ्नु होला । त्यसमा सबैको साथ हुन्छ । सबैको सहयोग मिल्छ ।’

त्यस्तै उनले राजनीतिक परिवर्तनमा महिलाहरुको भूमिका धेरै रहेको उल्लेख गरेकी छन्
। अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच बधाई तथा अभिनन्दन गरेको छ ।