आर्थिक विकासमा निजी क्षेत्रकै नेतृत्व : कार्यबाहक प्रधानमन्त्री
२२ चैत्र २०७६, शनिबार ०६:४६
काठमाडौं : कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकासमा जिम्मेवार निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)द्वारा आयोजित तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनको बिहीबार उद्घाटन गर्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘मुलुकको आर्थिक विकासलाई गरिने लगानीमध्ये दुईतिहाइ निजी क्षेत्रले नै गर्ने हो, त्यसो हुँदा समृद्धि हासिल गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘मुलुकको संविधान, कानुन र अन्य दस्ताबेजहरूमा नै निजी क्षेत्रको यो भूमिका स्थापित गरिएको छ, जसलाई सरकारले आत्मसात् गरेको छ ।’
सन् २०२२ सम्म अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य नेपालले लिएकोमा त्यसको प्राप्ति पनि निजी क्षेत्रकै नेतृत्वमा हुने उनले बताए । ‘यी लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ, जसमा निजी क्षेत्रले नेतृत्व लिनुपर्छ,’ उनले भने । कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले मुलुकमा विकास आयोजना सम्पन्न नहुनुको चुरो कुरो पत्ता लगाउनुपर्ने बताए ।
‘यहाँ स्रोतको समस्या छैन, कामदारको पनि समस्या छैन, नियम–कानुनको समस्या छैन, संरचनाको पनि अभाव छैन । २० वर्षअघि नै मेलम्चीको पानी ल्याएर काठमाडौं पखाल्ने घोषणा भएकोमा अहिलेसम्म त्यो आयोजना किन बनेको छैन ?’ जोशीले प्रश्न गरे । आजभन्दा १५ सय वर्षअघि नै पुर्खाहरूले खानेपानीको प्रणाली बनाएर ठाउँ–ठाउँमा ढुंगेधारा निर्माण गरेका थिए, तर अहिले एउटै मेलम्ची बन्न दशकौँ लाग्नुको कारण खोज्नुपर्ने उनले बताए ।
संयुक्त राष्ट्रसंघको नेपालका लागि आवासीय संयोजक भेलेरी जुलियान्डले गरिबी निवारणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताइन् । ‘निजी क्षेत्रको सहभागिताविना हामीले दिगो विकास लक्ष्य हासिल गर्न सक्दैनौँ,’ दिगो विकासका लागि जिम्मेवार व्यवसाय भन्ने नाराका साथ आयोजित कार्यक्रममा उनले भनिन् । कसैलाई पनि अभाव र वञ्चितीकरणमा रहन नदिने समावेशी विकासका मान्यता पालना गर्न उनले निजी क्षेत्रलाई आग्रह गरिन् । बिहीबार सुरु भएको सम्मेलन शुक्रबार सम्पन्न हुनेछ ।यो समाचार आजको नयाँ पत्रिकामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया