कांग्रेस महाधिवेशनमा प्रतिनिधिलाई दुवै छाक मासु भात, सुताईका लागि ‘उच्चस्तरीय’ व्यवस्था – Nagarikabhiyan : National News

कांग्रेस महाधिवेशनमा प्रतिनिधिलाई दुवै छाक मासु भात, सुताईका लागि ‘उच्चस्तरीय’ व्यवस्था

नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा आफ्ना प्रतिनिधिलाई मासुभात खुवाएर होटलमा राख्ने भएको छ। मंसिर २४ गतेदेखि काठमाडौंमा हुनलागेको महाधिवेशनमा कांग्रेसले सबै प्रतिनिधिलाई खाना र बस्नको प्रबन्ध गरेको हो।

१४औँ महाधिवेशनको लागि करिब ४५ सय प्रतिनिधि काठमाडौंमा जम्मा हुँदै छन्। उनीहरुलाई काठमाडौंमा व्यवस्थापन गर्न मुख्यतः सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ गरिएको छ। प्रतिबेड ८ सय रुपैयाँमा बुकिङ गरिएको व्यवस्थापन समितिले जनाएको छ।

तीन मुख्य ठाउँका होटल बुक 
‘ठमेल, गौशाला र सुन्धार क्षेत्रमा बढी होटल बुकिङ गरिएको छ’, महाधिवेशन आवास तथा खाना व्यवस्थापन समिति संयोजक सुरेन्द्र पाण्डेले भने, ‘४५ सय बेड आवश्यक पर्छ। जसमा अधिकांश बुकिङ गर्दै छौँ। धुम्वाराहीमा केही होटल बुकिङ गर्न बाँकी छ।’

पाण्डेले मंगलबार ४५ सय बेड बुकिङ भइसक्ने जानकारी दिए। पार्टीले होटलमा बस्ने व्यवस्था गरे पनि खानाको व्यवस्था भने महाधिवेशन स्थल भृकुटीपण्डपमै गरिएको छ। प्रतिनिधिले भृकुटीमण्डप बाहिर खाएको रकम आफैँ तिर्नुपर्ने उनले बताए।

मंसिर २४, २५, २६, २७ गते खाने व्यवस्था मिलाइएको छ। बस्ने व्यवस्था २३ गतेबाटै मिलाएको पाण्डेको भनाइ छ।

‘२४ गते उद्घाटन सत्र रहेकाले देशभरबाट २३ गते नै प्रतिनिधि आउँछन्। उनीहरुलाई २३ गतेबाटै होटलमा बस्ने व्यवस्था मिलाइएको छ’, पाण्डेले नेपालखबरसँग भने, ‘खानाको व्यवस्था भने २४ गतेबाट महाधिवेशन अवधिभर हुनेछ।’