गढी ५, देवानगञ्ज ७ र बराहक्षेत्रमा राहत वितरण
५ बैशाख २०७७, शुक्रबार ११:०५
सुनसरी । सुनसरीको गढि गाउँपालिका वडा नं. ५ ले शुक्रबार वडाका स्थानीय बिपन्न, दलित ,गरिब, असहाय गरि ३६५ जनालाई राहत वितरण गरेको छ । वडाका विपन्नलाई राहत बितरण गरेको वडा अध्यक्ष सुगना झग्डले जानकारी दिनुभयो । झग्डका अनुसार प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, १ पोका नुन, १ लिटर खाने तेल र १ वटा नुहाउने साबुन वितरण गरेको छ । राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरी र वडा सदस्यहरुको उपस्थिती रहेको वडा सचिव श्यामकुमार साहले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ७ राजगञ्ज सिनुवारीले शुक्रबार वडाका स्थानीयबासीलाई राहत वितरण गरेको छ । वडाका ४०३ गरिब, दलित , जनमदुरी गर्ने तथा विपन्न परिवारलाई राहत बितरण गरेको वडा अध्यक्ष वद्री प्रसाद यादवले जानकारी दिनुभयो । यादवका अनुसार प्रतिपरिवार १५ किलो चामल, १ किलो दाल, १ पोका नुन, १ लिटर खाने तेल वितरण गरेको हो ।
उता वराहक्षेत्र नगरपालिकाले राहत वितरण कार्य सुरु गरेको छ । देशैभरि लकडाउनको समय अवधि थपिदै जादा आम सर्वसाधारणलाई दैनक जिविकोपार्जनमा समस्या परेको छ । पहिलो चरणमा वराहक्षेत्र नगरपालिकाले नगरका चार हजार ३९० विपन्न घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । नगरका ११ वटै वडामा वैशाख ३ गते सम्मा पहिलो चरणको राहत सामाग्री वितरण गरेको छ । वराहक्षेत्र नगरपालिकाका सूचना अधिकृत पुकार पोख्रेलका अनुसार खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वितरण गरिएको हो ।
वराहक्षेत्र नगरपालिका वैशाख ३ गते सम्म वडा नं १ मा ४९८, वडा नं २ मा ४५४, वडा नं ३ मा ४८८, वडा नं ४ मा ३९३, वडा नं ५ मा ५०८, वडा नं ६ मा ४००, वडा नं ७ मा ७०६, वडा नं ८ मा ३७५ वडा नं ९ मा २६०, वडा १० मा २६०, वडा नं ११ मा १५० गरि जम्मा ४३९० घरधुरीलाई बितरण गरिएको छ । यसैगरि नगरक्षेत्र भित्र रहेका आश्रमहरुमा पनि राहत सामग्री बितरण गरिएको छ। आश्रमका ज्येष्ठ नागरिकलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कुल नौ वटा आश्रमहरुमा राहत सामग्री बितरण गरिएका छ। भु(बराह रामानुज पिठ, शिद्धेश्वर शिब मन्दिर, रामानन्दचार्य सेवा, सप्तकोशी आश्रम(औलिया), बेङ्कटेश रामानुज मन्दिर, गिता ब्रह्म चिन्तन योगाश्रम, शंकाराचार्य सेवा पिठ, अदैत संस्था संरक्षण मञ्च र बौद्धिक सनातन जोशमुनि पिठमा राहतमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
कोरोना भाइरसको माहामारीमा लकडाउनको समय अवधिलाई मध्यनजर गर्दै नगरभित्रका विपन्न तथा ज्याला मजदुरी गर्ने घरपरिवारलाई कुनै पनि प्रकारको समस्या नहोस भनि राहत सामाग्री वितरण गरिएको हो र आवश्यक्ता हेरी पुनः वडाहरुमा राहत सामाग्री वितरण गरिने वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया