नयाँ केन्द्रीय कमिटीमा अध्यक्षका आकांक्षी केपी शर्मा ओली स्वयम्ले मध्यरातमा आफूसहित ३०१ जनाको नाम घोषणा गरे
१३ मंसिर २०७८, सोमबार ०८:२३
चितवन । शुक्रबार नारायणी तीरमा भव्य समारोहबीच उद्घाटन भएको महाधिवेशनको बन्दसत्र कार्यतालिकाअनुसार शनिबार र आइतबार दिनभर अघि बढ्न सकेन । आइतबार दिनभर महाधिवेशन प्रतिनिधि बन्दसत्रमा व्यग्र प्रतीक्षामा थिए भने अध्यक्ष ओली भने आफ्नो ‘कोर टिम’ सँग होटलमा बसेर नामावली बनाइरहेका थिए । को–को के–के पदमा बस्ने भन्ने टुंगो लगाएर मात्र ओली बन्दसत्रमा प्रवेश गरेका थिए । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १० बजे मात्र सुरु भएको थियो । निर्धारित समयभन्दा १२ घण्टा ढिलो आएका अध्यक्ष ओलीले करिब दुई घण्टा अध्यक्षमण्डलका नेताहरूसँग छलफल गरेका थिए । उनले निर्वाचनमा जाँदा प्रतिस्पर्धा हुने र त्यसले पार्टीभित्र वैमनस्यता हुने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका थिए । ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डलको बैठक बसिरहेका बेला विजय सुब्बा नेतृत्वको निर्वाचन आयोगले राति नै कार्यतालिका सार्वजनिक गरेको थियो । राति ११ बजेदेखि सुरु हुने कार्यतालिका सार्वजनिक भने ११:३० मा गरिएको थियो । मतदाता नामावलीमा दाबी विरोध गर्न १५ मिनेट, छानबिन गर्न ५ मिनेट र अन्तिम नामावली प्रकाशन गर्न ५ मिनेट मात्रै छुट्याइएको थियो । त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिन १५ मिनेट र छानबिन गर्न १० मिनेट मात्र छुट्याइएको थियो ।
त्योबीचमा पनि आकांक्षीहरूले आयोगबाट फारम लिएर भरिरहेका थिए । फारम भर्ने म्याद १२.३० सम्म थियो । तर, त्यो समय नसकिँदै आयोगले निर्वाचनका सबै प्रक्रिया स्थगन गर्यो । योबीचमा अन्य उम्मेदवारसहित अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले मनोनयनपत्र भरिसकेका थिए । तर निर्वाचन कार्यक्रम बिहान ८ बजे मात्र सुरु हुने भनिएपछि उनीहरूले फारम बुझाउन पाएनन् । आयोग अध्यक्ष सुब्बाले रातिको समयमा उम्मेदवारी दर्तालगायतका काम नगर्ने भनेर स्थगित गरिएको बताए । ‘यो काम राति नगरौं भन्ने भयो । अहिले निर्वाचनका सबै प्रक्रिया स्थगित गरिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुन्छ,’ सुब्बाले कान्तिपुरसँग भने ।
निर्वाचन कार्यक्रम स्थगित भएसँगै उम्मेदवार र प्रतिनिधिहरू अलमल परेका थिए । एकाएक ओली बन्दसत्रमा आएर प्रस्तावित केन्द्रीय कमिटीका सदस्यहरूको नामावली पढ्न थाले । करिब १७ मिनेटमा ३ सय जनाको नाम पढेपछि उनले अन्त्यमा आफ्नो नाम पढौं कि नपढौं बनेर सोधे । सबैले तालीले स्वागत गरेपछि उनले आफ्नोसमेत घोषणा गरे । त्यसपछि बन्दसत्र केही समयका लागि स्थगित भयो । १९ सदस्यीय केन्द्रीय पदाधिकारीको नाम घोषणा गर्न बाँकी नै थियो । दिनभर पनि नेताहरूबीच समझदारी हुन नसकेकाले अन्तिम छलफलका लागि ओली अध्यक्षमण्डलका सदस्यहरूसँग बसे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया