इपीएलमा भैरहवाविरुद्ध काठमाडौँलाई जित्नैपर्ने दबाव
१९ आश्विन २०७८, मंगलवार १०:११
काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा मंगलबार लिग चरणको अन्तिम खेलमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदै छ । टियु क्रिकेट मैदानमा हुने यी दुई टोली बीचको खेल बिहान ९:३० बजे सुरु हुने छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंलाई प्ले अफ पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाव छ ।
आजको खेलमा पराजित भएमा काठमाडौं बाहिरिने छ भने ललितपुरले प्लेअफमा स्थान बनाउने छ । काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । जित निकालेमा चौंथो स्थानमा रहेर प्ले अफमा पुग्ने छ । उता भैरहवा भने यस अघि नै प्ले अफ पुगिसकेको छ । ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको भैरहवा पनि आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।
शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् । क्वालिफायर १ को विजेता फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया